प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षणमा भ्रष्टाचार मौलायो : ट्रान्सपरेन्सी



काठमाडौं भदौ २८ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षणमा भ्रष्टाचार मौलाएको आरोप लगाएको छ ।

खुद्रे मुद्दाहरु बोकेर अख्तियारले भ्रष्टाचार नियन्त्रणको डङ्का पिटे पनि प्रधानमन्त्रीको संरक्षणमा ठूला भ्रष्टाचारका काण्डहरु घटेको ट्रान्सपरेन्सी इन्टरनेशनलको आरोप छ । पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयल निगमको जग्गा खरिद प्रकरणको फाइल तामेलीमा राखेपछि ट्रान्सपरेन्सी इन्टरनेशनलले यस्तो आरोप लगाएको हो ।

न्युज एजेन्सी नेपालसँग आइतबार कुराकानी गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष खेमराज रेग्मीले प्रधानमन्त्रीको ओठे प्रतिबद्धता र व्यवहारका कारण भ्रष्टाचारीहरु संरक्षित भएको बताए । बालुवाटार जग्गा प्रकरण, सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, ओम्नी प्रकरणमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले उहाँको संरक्षणमा भ्रष्टाचार मौलाएको पुष्टि हुने उनको भनाइ छ ।

अध्यक्ष रेग्मीले अख्तियार प्रमुखसमेत सरकारको नीति निर्देशनअनुसार काम कारिन्दाका रुपमा परिचित हुँदै गएको बताए । अख्तियारका पछिल्ला कदमहरुले अख्तियारको औचित्य छ कि छैन भनेर शङ्का उब्जाएको उनको भनाइ छ ।

ठूला भ्रष्टाचारका मुद्दाहरु ‘तामेली’ मा राख्दै जाने प्रवृत्तिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको औचित्य समाप्त हुने उनले चिन्ता व्यक्त गरे । उनले राजनैतिक नेतृत्व तहको संलग्नता र नीतिगत निर्णयका नाममा हुने ठूला भ्रष्टाचारका मुद्दामा केन्द्रित रहेर भ्रष्टाचारीहरुमाथि निर्मम कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने बताए

आयल निगमको जग्गा खरिद प्रकरण, वाइडबडी जहाज खरिद प्रकरण, न्यारोबडी जहाज खरिद प्रकरण, नेपाल ट्रस्टको जग्गाहरु यति कम्पनीलाई लिजमा दिएको प्रकरण, सेक्युरिटी प्रेस खरिद सम्बन्धमा तत्कालीन मन्त्रीको अडियो प्रकरण र स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूहद्वारा गरिएको व्यापक अनियमिततासम्बन्धी प्रकरणका मुद्दाहरुमा अविलम्ब अनुसन्धान प्रक्रिया सम्पन्न गरी दोषीलाई कारबाही गर्नुको सट्टा फाइल तामेलीमा राखेर बन्द राखेको प्रति उनले दुःख व्यक्त गरे ।

दोषीमाथि कडा सजायको माग दाबी गरी मुद्दा दायर गर्नुपर्नेमा उल्टै माहामारीको मौका छोपेर गुपचुपमा अरबौँ रुपैयाँभन्दा बढी रकम हिनामिना गर्ने गराउने व्यक्तिहरुलाई उन्मुक्ति दिने गरी मुद्दाको फाइल गरिएको प्रति ट्रन्सपरेन्सी इन्टरनेशनलले ध्यानकर्षणसमेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्