घ्याङफेदी पहिरो पीडित विभिन्न बस्तीका १९५ घरपरिवारलाई खाद्य सामग्री वितरण



राहतस्वरुप वितरणका लागि तयारी अवस्थामा खाद्य सामग्री

नुवाकोट,भदौ २९ । घ्याङफेदीका पहिरो पीडित विभिन्न बस्तीका १९५ घरपरिवारलाई खाद्य सामग्री वितरण गरिएको छ। सोमबार एक कार्यक्रम बीच पहिरो पीडितहरुलाई एक संस्थाले खाद्य सामग्री वितरण गरेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए ।

गाउँपालिकाको वडा नम्बर १ घ्याङ्फेदीको विभिन्न बस्तिहरुमा पहिरो बाट विस्थापित १९५ घर परिवारलाइ आधार डेभलपमेन्ट संस्थाले  खाद्य सामग्री वितरण गरेको हो । खाद्य सामग्री वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल सहित विभिन्न कार्यालयका प्रमुखहरुको सहभागीता रहेको थियो।

आधार डेभलपमेन्ट संस्थाका प्रल्हाद ढकालले पीडित समुदायलाई गाँसको ब्यवस्थापन गर्न पाउदा हर्ष लागेको बताए। संस्थाद्वारा प्रदान गरिएको खाद्य सामग्रीमा प्रतिपरिवार चामल ५० किलोग्राम,दाल ५ किलोग्राम, गेडागुडी ५ किलोग्राम,तेल २ लिटर र साबुन १० प्याकेट  रहेको छ।

खाद्य सामग्री वितरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले दुखको घडीमा हामी सबैले मिलेर एकाअर्कालाई सहयोगी भावनाका साथ अगाडि बढ्न सक्नु नै बिपत्तिलाई जित्न सक्नु  भएको बताए।सुरक्षित स्थायी स्थानको ब्यवस्थापनका लागि छलफल भैरहेकाले हतोत्साहित नहुन पीडितलाई सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्