नेपाली विद्यार्थीबाट अर्बौं कमाउदै भारत



काठमाडौं, भदौ ३० । उच्च शिक्षाका लागि भारत भित्रने नेपाली विद्यार्थीबाट भारतको अर्थतन्त्रमा वर्षेनि अर्बौं रुपैयाँ बराबरको योगदान पुग्ने गरेको छ ।

भारतमा अध्ययनका लागि पुग्ने विद्यार्थीमध्ये सबैभन्दा बढी नेपाली हुने गरेको त्यहाँको मानव संसाधन विकास मन्त्रालयको तथ्यांकले देखाएको हो । तर, यो तथ्यमा कमै मात्र चासो र चर्चा हुने गरेको छ ।

भारतीय शिक्षण प्रतिष्ठान नेपाली विद्यार्थीतर्फ उन्मुख हुँदै गएका छन् । नेपाली नीति निर्माताहरू भने वर्षेनि हजारौं विद्यार्थी किन बाहिरिइरहेका छन् र कसरी स्वदेशमै अवसर दिन सकिन्छ भन्नेमा खासै गम्भीर देखिएका छैनन् ।

भारतले अहिले रणनीतिक रूपमै विदेशी विद्यार्थीलाई आकर्षित गर्ने योजना अघि सारेको छ । त्यसमा नेपाली विद्यार्थी मुख्य प्राथमिकतामा छन् ।

भारतको मानव संसाधन विकास मन्त्रालयले सन् २०१९ मा सार्वजनिक गरेको ‘अल इन्डिया सर्भे अन हाइअर एजुकेशन–२०१८र१९’ ले भारतमा उच्च शिक्षाका लागि जाने विदेशीमध्ये नेपाली विद्यार्थी अग्रस्थानमा रहेको देखाएको छ ।

कुल विदेशी विद्यार्थीमा नेपाली २६ दशमलव ८८ प्रतिशतसहित प्रथम स्थानमा रहेको अध्ययन प्रतिवदेनमा उल्लेख छ । त्यस शैक्षिक वर्षमा भारतका विभिन्न शिक्षण प्रतिष्ठानमा ४७ हजार ७ सय २४ विदेशी विद्यार्थी भर्ना भएका थिए । तीमध्ये नेपाली विद्यार्थीको संख्या मात्रै करीब १३ हजार हाराहारी छ ।

विभिन्न तहलाई औसत ५ वर्षको अवधि मान्दा भारतका विभिन्न विश्वविद्यालयमा करीब ६५ हजार नेपाली विद्यार्थीले अध्ययन गरिरहेको अनुमान गर्न सकिन्छ । नेपाली विद्यार्थीले भर्ना, पढाइ, आवास शुल्क, यातायातलगायतमा अर्बौं खर्च गर्छन् ।

नेपाली अभिभावकले भारतमा आफ्ना सन्तानका लागि वार्षिक ८ लाख भारतीय रुपैयाँ ९भारू० खर्च गर्ने गरेको भनाइका आधारमा भारतीय शैक्षिक संस्थाहरूलाई नेपाली विद्यार्थीबाट वर्षेनि ५२ अर्ब भारू आय भइरहेको छ ।

देहरानदुन, नैनीताल, लखनऊ, दार्जिलिङलगायत कन्भेन्ट स्कूलमा पढ्न जाने नेपाली विद्यार्थीको आँकडालाई जोड्ने हो भने यो अंक खर्ब हाराहारीमा पुग्ने जानकारहरू बताउँछन् ।

सरकारले शिक्षाको पूर्वाधार र प्रणाली व्यवस्थित तुल्याउन नसक्दा नेपालबाट विद्यार्थी बाहिरिने अवस्था आएको प्राडा दीपक शाक्यको बुझाइ रहेको छ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्