औपचारिक यात्रामा गोर्खा मिडिया



लन्डन,भदौ ३० । बेलायत-नेपाल र गोर्खा समुदायसहित सबै क्षेत्रका समाचार र विचारलाई समेट्ने गरी सोमबारदेखि गोर्खा मिडिया डटकमले औपचारिक यात्रा प्रारम्भ गरेको छ ।

बेलायतबाट सञ्‍चालन हुने यस न्यूज पोर्टलको सोमबार भर्चुअल माध्यमबाट नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले वेबसाइट लगअन गरेर शुभारम्भ गरेका हुन् ।

गोर्खा मिडियाको शुभारम्भ कार्यक्रममा मन्त्री गुरुङ, एनआरएनए यूकेका अध्यक्ष पुनम गुरुङ, तमु धिं यूके तथा गोर्खा मिडियाका सल्लाहकार एकेन्द्र गुरुङ, सल्लाहकार तथा तमु प्ये ल्हु संघका अध्यक्ष मेजर खुशीमान गुरुङ एमभिओ खुसीमान गुरुङ, तमधिं यूकेका निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ, नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपाङ्गी मगर, गोर्खा मिडियाका सल्लाहकार प्रकाश  गुरुङ, सञ्‍चारकर्मी दीपेन्द्र श्रेष्ठ, गायक सुरेन्द्र गुरुङ, लगायतको उपस्थिति थियो ।

गोर्खा मिडियाको संस्थापक एवं प्रबन्ध निर्देशकमा मिलन तमु, सम्पादक हुमबहादुर गुरुङ रहेका छन् । सल्लाहकारहरुमा मेजर खुशीमान गुरुङ (एमभिओ), चित्रबहादुर गुरुङ, एकेन्द्र गुरुङ, घनबहादुर थापा, प्रकाश गुरुङ, सुदर्शन रञ्‍जित, दीपेन्द्र श्रेष्ठ छन् ।

त्यस्तै अतिथि लेखकहरुमा जानु काम्बाङ लिम्बु र रोशनी गुरुङ, मल्टिमिडिया/फोटोग्राफी भरत तामाङ र मणिलाल गुरुङ तथा प्राविधिक सहयोगी शोभित नेपाल र ओम लामा रहेका छन् ।

यस मिडियाले बेलायतसहित संसारभरि रहेका नेपालीमाझ सत्य, निष्पक्ष, सन्तुलित र समावेशी समाचार, विचार निरन्तर प्रवाह गर्ने छ । साथै समाजका विकृति, विसंगति विरुद्ध खबरदारी गर्दै गोर्खा समुदाय र प्रवासी नेपाली उन्नति र अनुभवसहित हरेक क्षेत्रका सकारात्मक पक्षलाई उजागर गर्ने लक्ष्य रहेको सम्पादन मण्डलले जनाएको छ ।

यस समाचार माध्यमले सामुदायिक पत्रकारिता, नागरिक पत्रकारिताको अभ्याससँगै व्यावसायिक तर्फ लम्कने अठोट लिएको छ । तर विज्ञापनमार्फत संकलित रकम कार्यालय सञ्‍चालन र नेपाल र बेलायतमा नेपाली विपन्न व्यक्ति/परिवार, विभिन्न समस्याबाट पीडितको घाउमा मलम लगाउनमा प्रयोग गर्ने उद्देश्य रहेको पनि प्रबन्ध निर्देशक मिलन तमुले जानकारी दिए ।

गोर्खा मिडियामा विशेषगरी नेपाल र बेलायतका समाचारमूलक गतिविधि, गोर्खा समुदायको इतिहास र वर्तमान, फोटोफिचर, संस्था तथा व्यक्तिको प्रोफाइल, विभिन्न क्षेत्रका व्यक्तिहरुको विचार, अन्तर्वार्ता, कला, साहित्य लगायत खुराक हेर्न र पढ्न पाइने छ ।

उनले खारिएका र व्यावसायिक पत्रकारको साथ र विभिन्न क्षेत्रका दिग्गज व्यक्तिहरु र पाठक, दर्शकको सल्लाह र सुझावका आधारमा गोर्खा मिडिया अघि बढ्ने प्रण समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्