मेस्सी बने सर्वाधिक कमाउने फुटबलर



एजेन्सी,भदौ ३० । बार्सिलोनाका कप्तान लियोनल मेस्सी सन् २०२० मा विश्वकै सर्वाधिक धेरै कमाउने फुटबलर घोषणा भएका छन् । अमेरिकी बिजनेस म्यागाजिन ‘फोर्ब्स’का अनुसार अर्जेन्टिनी कप्तान मेस्सी २०२० मा सबैभन्दा धेरै कमाउने खेलाडीका रुपमा घोषणा भएका हुन् ।

फोर्ब्सका अनुसार केही समयअघि बार्सिलोना छोड्ने घोषणा गरी पुनः क्याप नोउ नै बस्ने मनसाय बनाएका ३३ वर्षीय मेस्सीले १२६ मिलियन डलर कमाएका छन् । मेस्सीले तलबमार्फत ९२ मिलियन डलर तथा अन्य शीर्षकमा ३४ मिलियन डलर कमाएका हुन् । यसअघि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सर्वाधिक धेरै कमाउने खेलाडीको सूचिमा पहिलाे स्थानमा थिए । यो वर्ष भने मेस्सीले रोनाल्डोलाई उछिनेका हुन् ।

३५ वर्षीय रोनाल्डोले भने ११७ मिलियन डलर कमाएका छन् । युभेन्टसका स्टार रोनाल्डोले ७० मिलियन डलर तलबमार्फत र अन्य शीर्षकमा ४७ मिलियन डलर कमाएका छन् । ब्राजिलियन स्टार तथा फ्रान्सेली क्लब पीएसजीका फरवार्ड नेयमारले ९६ मिलियन डलर कमाउँदा नेयमारका सहकर्मी तथा विश्वकप विजेता किलियन एम्बाप्पेले ४८ मिलियन डलर कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्