लामो दूरीका यातायात र आन्तरिक उडान असोज १ गतेबाटै चल्ने,अन्तर्राष्ट्रिय सीमानाका असोज ३० सम्म बन्द



काठमाडौं भदौ ३० ।

सरकारले लामो दुरीका यातायात असोज १ गतेदेखि नै खुला गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार नियमित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी दिएका हुन्। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको उनले बताए। तर यसरी गाडी चलाउँदा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्न पाइनेछ।

यसका साथै एकातर्फको सिटमा एकजना मात्रै यात्रु राख्‍न पाइने भएको छ। परराष्ट्र मन्त्री ज्ञवालीले व्यवसायीले अहिलेको भाडादरमा ५० प्रतिशत बढाएर यात्रु बोक्‍न सक्ने निर्णय भएको पनि जानकारी दिए। त्यसैगरी आन्तरिक उडान पनि यही असोज १ गतेबाटै चल्ने भएका छन्। जहाजलाई पनि बसमा जस्तै स्वास्थ्य सुरक्षा मापदण्ड तय गरिएको उनले बताए।

भाडादरबारेको निर्णय भने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले लिने भएको छ। ज्ञवालीका अनुसार जहाजमा यात्रा गर्दा कम्तीमा ७२ घण्टाअघिको पिसिआर रिपोर्ट चाहिनेछ।पिसिआर रिपोर्ट देखाएपछि मात्रै जहाजमा यात्रा गर्न पाइने निर्णय भएको ज्ञवालीले बताए। लामो दूरीको सवारीमा ५० प्रतिशत भाडा बढी लिन सक्ने व्यवस्था पनि सरकारले गरेको छ । तर हवाई भाडाको दर भने पर्यटन मन्त्रालयले तोके अनुसार हुने निर्णय भएको छ।

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले असोज १ गतेबाट खुल्ने आन्तरिक उडान, लामो दुरीका सवारी सञ्चालन तथा होटल व्यवसाय सञ्चालनमा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाउनुपर्ने छ। अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवागमन भने असोज ३० सम्म बन्द नै गर्ने निर्णय भएको छ। यद्यपि दार्चुलाको खलंगा पुलघाट र इलामको पशुपतिनगर नाका आवश्यकता अनुसार दुवै देशको सहमतिमा खोल्न सकिने निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस्