श्राद्धको खाना खाँदा एकको मृत्यु , १५ जना बिरामी



कैलाली भदौ ३१ ।

कैलालीमा श्राद्धको खाना खाएर १५ जना बिरामी भएका छन् । गोदावरी नगरपालिका– १० खमौराका मान्छे बिरामी भएका हुन् ।

बिरामी भएकामध्ये एकजनाको मङ्गलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्राद्धमा खाना खाएर बिरामी परेका सुरेश बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए। बिरामी भएका अन्य १५ जनाको सेती प्रादेशिक, नवजीवन र माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष रवीन्द्र शाहीका अनुसार यही भदौ २७ गते श्राद्धमा खाना खाएका उनीहरु बिरामी परेका हुन् । सेती अस्पतालका आकस्मिक वार्ड प्रमुख कृष्ण बोहराले फुड प्वाइजनिङ खाद्य विषाक्तताका कारण उनीहरु बिरामी परेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्