नेकपा र कांग्रेस शीर्ष नेताबीच बिहीबार छलफल हुने



काठमाडौं भदौ ३१ ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा बिहीबार छलफल हुने भएको छ।

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार बिहान भएको भेटवार्ताले बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको उक्त बैठक तय गरेको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

नेकपाको यही भदौ २६ गते सहमतिका साथ निर्णय भई स्थायी कमिटीको बैठक सम्पन्नपछि अध्यक्षद्वयले अन्तरपार्टी सर्कुलर जारी गरी सरकार र पार्टीका कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउने संकल्प गरिसेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्षद्वयबीच नियमितजसो भेटवार्ता र छलफल हुने क्रममा बुधबार पनि भेटवार्ता भएको जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्त, निर्वाचन आयोगका केही आयुक्तसहित विभिन्न संवैधानिक आयोग तथा केही विश्वविद्यालयमा उपकुलपति र पदाधिकारी रिक्त रहेका छन् । रिक्त रहेको स्थितिमा सरकार र प्रतिपक्षबीच छलफल तथा सहमतिपछि नियुक्तिको प्रक्रिया अघि बढ्ने जनाइएको छ। यसैबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढाउन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमत भएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका ओली र दाहालबीच बुधबार बिहान बालुवाटारमा भएको भेटवार्तामा संवैधानिक निकायका रिक्त पदमा नियुक्ति गर्ने समझदारी भएको हो।

प्रतिक्रिया दिनुहोस्