५९९ कैदीबन्दी रहेको सिरहा कारागारमा ५०० कैदीमा कोरोना



सिरहा भदौ ३१ ।

सिरहा कारागारमा बुधबार एकैदिन २५९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल ५९९ कैदीबन्दी रहेको सिरहा कारागारमा अहिलेसम्म ५ सय जनामा कोरोना संक्रमण भइसकेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा परीक्षण गरिएकोमा बुधबार २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कारागार सिरहाकी प्रमुख बबिता महतोले बताइन्।

जिल्ला कारागार सिरहामा १५० जनामात्रै कैदी राख्ने क्षमता भए पनि अहिले सो कारागारमा ५९९ जना छन् । संक्रमित कैदीमा २७७ जना पुरुष, २० महिला र २ बालबालिका छन्। सबै संक्रमित कैदीहरु कारागारमै छन्।

सो कारागारमा साउन २४ गते २० वर्षदेखि ५५ वर्ष सम्मका ५९ जना पुरुष कैदीको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । साउन २६ गते २ वर्षदेखि ६० वर्षसम्मका १८ महिला र २ वर्षीय १ बालक गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

साउन २९ गते १४ वर्षदेखि ३५ वर्षसम्मका १५ जना पुरुष तथा साउन ३० गते १ वर्ष देखि ६५ वर्षसम्मका १४७ पुरुष कैदीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्