भारतले नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउन चाहेको छ : मोदी



काठमाडौं असोज १ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई ऐतिहासिक र सांस्कृतिक आधारमा थप सुदृढ बनाउन चाहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार बिहान दिएको जन्मदिनको शुभकामनाको जवाफमा भारतीय प्रधानमन्त्री मोदीले ट्विटमार्फत नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउन चाहेको बताएका हुन् ।

प्रधामन्त्री ओलीले बिहिबार बिहान मोदीलाई ७० औं जन्मदिनको शुभकामना दिएका थिए। विगत केही महिनादेखि सीमा विवादका कारण नेपाल र भारतबीचको सम्बन्ध चिसिएको छ । नेपालले लिम्पियाधुरा सहितको क्षेत्र समेटेर नयाँ राजनीतिक नक्सा प्रकाशित गरेर संविधान समेत संशोधन गरेयता दुई देशबीच लामो समयसम्म संवाद हुन सकेको छैन ।

गत १५ अगष्टमा भारतको स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले नै मोदीलाई फोनमा शुभकामना दिँदै लामो समयको संवादहीनता तोडेका थिए । पछिल्लो समय दुई देशको सम्बन्ध केही सहज बन्दै गएको संकेत देखिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्