राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए भाइटीका
काठमाडौं,कात्तिक २५ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका शुभसाइतमा लगाउनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा बहिनी शारदा पण्डितबाट विधिपूर्वक भाइटीका लगाउनुभएको हो ।
भाइटीकाका अवसरमा बहिनी शारदाले राष्ट्रपति पौडेललाई ओखर, बदामसहितका फलफूल तथा विभिन्न सौगात प्रदान गर्नुभएको थियो । राष्ट्रपति पौडेलले पनि बहिनीलाई टीका लगाएर उपहार तथा दक्षिणा प्रदान गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले यस वर्ष भाइटीका लगाउने उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको थियो ।
यमपञ्चकको अन्तिम दिन भाइटीका पर्व मनाइन्छ । यस दिन दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाई आपसी प्रेम, सद्भाव, स्नेह र दीर्घायुको कामना गर्ने परम्परा रहेको छ ।

