डाक्टर केसीको जीवन रक्षा गर्न सरकारसँग माग



काठमाडौं असोज २ ।

नेपाल चिकित्सक सङ्घले प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।

शुक्रबार एक प्रेस विज्ञप्ति निकाल्दै सङ्घले गएको सोमबारदेखि जुम्लामा १९ औँ सत्याग्रह शुरु गरेका डा. केसीको जीवन रक्षा गर्न माग गरेको हो । चिकित्सा शिक्षा तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका अभियन्ता डा. केसीले गएको पाँच दिनदेखि सत्याग्रहमा बसेको सम्बन्धमा सरकारको ध्यान नगएको भन्दै सङ्घले आपत्ति पनि जनाएको छ ।

६० वर्ष पूरा भइसकेका एक जना चिकित्सकले चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाको माग गर्दा पनि सरकारको तर्फबाट सम्झौताको कार्यान्वयन नहुँदा सत्याग्रहमा बस्नुपरेको चिकित्सक सङ्घले बताएको छ ।

‘सत्याग्रहप्रति नेपाल सरकारले गम्भीर रुपमा मनन गरी अविलम्ब वार्ताद्वारा जायज मागहरुको सम्बोधन गर्दै उहाँको जीवन रक्षा गर्न नेपाल चिकित्सक सङ्घ जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्