नुवाकोटको लच्याङमा निःशुल्क आँखा परीक्षण शिविर, २०० जनाले पाए सेवा



नुवाकोट,कात्तिक २४ । नुवाकोटको सूर्यगढी गाउँपालिका–१ लच्याङमा निःशुल्क आँखा परीक्षण शिविर तथा चस्मा वितरण कार्यक्रम सञ्चालन गरिएको छ । शिविरबाट उपचारका लागि सदरमुकाम विदुर तथा काठमाडौं जान नसक्ने आँखाका बिरामी लाभान्वित भएका छन् ।

‘आँखा स्वास्थ्यप्रति सचेत बनौँ, समयमै परीक्षण गराऔँ’ भन्ने नारासहित सञ्चालन गरिएको शिविरमा २०० जना सेवाग्राहीले आँखा परीक्षण गराएका छन् । परीक्षणपछि आवश्यकताअनुसार सेवाग्राहीलाई चस्मासमेत वितरण गरिएको वडाध्यक्ष राजकुमार तामाङले जानकारी दिनुभयो ।

गाउँपालिकाको उत्तरी ग्रामीण भेगका स्थानीयलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा गाउँवासीको उत्साहजनक सहभागिता रहेको थियो । ‘सबैका लागि स्वस्थ दृष्टि, उज्यालो भविष्यको सुन्दर सृष्टि’ भन्ने मूल नाराका साथ शिविर सञ्चालन गरिएको हो ।

शिविरकै अवसरमा सूर्यगढी गाउँपालिका–१ लच्याङ सोलामानेस्थित लच्याङ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय झोलासमेत वितरण गरिएको छ ।

सूर्यगढी गाउँपालिका–१ को कार्यालयको आयोजना तथा लच्याङ आधारभूत विद्यालयको सहआयोजनामा सम्पन्न कार्यक्रमलाई रेभेज नेपलीज फ्रान्स र मण्डला ट्रेकिङ एजेन्सिजले आर्थिक तथा प्राविधिक सहयोग गरेका थिए ।

शिविरमा सहभागी आँखा प्राविधिकहरूले आँखाको नियमित स्याहार तथा सुरक्षामा ध्यान दिन र समयमै परीक्षण गराउन स्थानीयलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्