बाढीले बगाएर ल्याएको दाउरा समात्न जाँदा बाबुछोरी बेपत्ता



नवलपरासी असोज २ ।

बाढीले बगाएर ल्याएको दाउरा समात्न जाँदा शुक्रबार पूर्वी नवलपरासीमा बाबु–छोरी बेपत्ता भएका छन्।

आमालाई भने सकुशल उद्धार गरिएको छ। बेपत्ता हुनेमा मध्यबिन्दु नगरपालिका वडा नं १५ भ्युरानका ४५ वर्षीय भूपलाल क्षेत्री र उनकी १४ वर्षीया छोरी सुजिता रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

गएरातिदेखि परेको वर्षाका कारण स्थानीय अरूणखोलामा ठूलो बाढी आएको छ । सोही खोलाको बाढीमा बग्दै आएको दाउरा समात्न परिवारका ३ जना पुगेका थिए ।

सोही क्रममा बाबु छोरी बेपत्ता भएको र क्षेत्रीकी श्रीमती सानीलाई स्थानीयले उद्धार गरेका हुन। घटनास्थल भन्दा केही तल नारायणी नदी छ। बेपत्ताको खोजी कार्य भइरहेको डीएसपी खांणले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्