आन्तरिक वायु सेवा कम्पनीहरुलाई पूर्ण सिट क्षमतामा यात्रु बोक्न अनुमति



काठमाडौं असोज २ ।

सरकारले आन्तरिक वायु सेवा कम्पनीहरुलाई पूर्ण सिट क्षमतामा यात्रु बोक्न अनुमति दिएको छ ।

५० प्रतिशत मात्रै यात्रु राखेर उडान नगर्ने अडान राखेपछि पर्यटन मन्त्रालयले शतप्रतिशत राख्न अनुमति दिएको हो। पर्यटनको अनुमतिसँगै निजी वायुसेवा कम्पनी बुद्ध एयर, श्री एयरलाइन्स, यती एयरलाइन्स लगायत कम्पनीले शुक्रबारदेखि नै टिकट बुकिङ खुला गरेको जनाएका छन्।

मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई असोज पाँच गतेदेखि नियमित उडान गर्ने वायुसेवा कम्पनीलाई २५ प्रतिशत उडान संख्या कायम गर्ने गरी समय तालिका स्विकृत गर्न निर्देशन दिएको जनाएको छ।

आन्तरिक उडानका लागि यात्रुले बोर्डिङ पास लिनु अगाडी नै अनिवार्य हेल्थ डिक्लेरेसन फर्म भर्नुपर्ने प्रावधान बनाएको छ। मौसमका कारण उडान रद्ध वा विलम्ब हुँदा विमानस्थलमा हुने अनावश्यक भीडलाई मध्यनजर गर्दै सम्वन्धित वायुसेवा कम्पनीले आफैले यात्रुहरुलाई ग्रुप एसएमएसमार्फत पूर्व जानकारी दिन मन्त्रालयले निर्देशन दिएको छ।

प्रत्येक वायुसेवा कम्पनीको स्वास्थ्य सुरक्षा अवलम्बन पालनाको नियमित अनुगमन प्राधिकरणले गर्नेछ। यात्रु मागलाई मध्यनजर गर्दै आउँदो अक्टोबर देखि उडान तालिका थप्नका लागि प्राधिकरणलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्