सरकारले २ सय ८९ जना कैदीको सजाय मिनाहा गर्दै, लिस्टमा परेनन् सांसद रेशम चौधरी



काठमाडौं असोज २ ।

हालै बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयपछि सरकारले २ सय ८९ जना कैदीको सजाय मिनाहा गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

संविधान दिवस–२०७७ को अवसर पारेर सरकारले देशभरका कारागारमा रहेकामध्ये ५० प्रतिशत सजाय भुक्तान गरिसकेका, असल चालचलन भएका र नेगेटिभ अपराधको सूचीमा नपरेका २ सय ८९ जना कैदीको बाँकी सजाय मिनाहा गर्न सिफारिस गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

शनिबार संविधान दिवस मनाइँदैछ । हरेक वर्ष संविधान दिवस, प्रजातन्त्र दिवस, गणतन्त्र दिवस अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट कैदीबन्दीलाई सजाय मिनाहा गर्न सकिने कानूनी प्रावधान छ ।

कर्तव्य ज्यान र आगजनीको कसुरमा अदालतबाट दोषी ठहर भई कारागारमा कैद भुक्तान गरिरहेका कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्ष निर्वाचित सांसद रेशम चौधरीको नाम भने समावेश नरहेको बताइएको छ ।

उनको सजाय माफी दिन जनता समाजवादी पार्टी जसपाले गरेको लिखित रुपमा सरकारसँग आग्रह गरेको थियो । चौधरी वर्तमान संविधान घोषणा गर्नुअघि थरुहट प्रदेश माग लगायत विषयमा संविधानप्रति असहमति जनाउँदै कैलालीमा भएको झडपमा नेपाली प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मारिएको घटनामा दोषी ठहर भएका थिए ।

प्रतिक्रिया दिनुहोस्