नेकपा अध्यक्ष दाहाल – ‘जनअपेक्षा छिट्टै पूरा हुनेछन्’



काठमाडौं असोज ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्ने बाँकी अवधिमा जनताले अपेक्षा गरेअनुसार अझ व्यापक रुपमा विकास परियोजना अगाडि बढ्ने बताएका छन् ।

संविधान दिवस, २०७७ का अवसरमा शनिबार भिडियो सन्देश जारी गर्दै उनले आगामी दिनमा राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनता अझै सुदृढ हुँदै जाने विश्वास दिलाए । उनले संविधान दिवसको ऐतिहासिक अवसरले हामी सबैमा एकताका, शान्ति र समृद्धिको नयाँ संकल्प लिने दिनका रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । राष्ट्रिय एकता, स्वाधिनता, आत्मसम्मानको अभिवृद्धि गर्न पनि संविधान दिवसले मद्धत गर्ने उनको विश्वास छ ।

संविधानले निर्दिष्ट गरेका मौलिक अधिकारसँग सम्बन्धित होस्, या स्थानीय तह, प्रादेशिक तह वा सङ्घीय संरचनासँग समबन्धित अनगिन्त ऐन कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारले समयमै निर्माण गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेकपा नेतृत्वको सरकारले अन्तर्राष्टिय सम्बन्धलाई सहज बनाउने, खासगरी छिमेकीसँगको सम्बन्धलाई सुदृढ गर्ने कुरामा समेत विशेष ध्यान दिएको बताए ।

विधानसभाबाट संविधान निर्माण प्रक्रियालाई आफैँमा एउटा ऐतिहासिक महत्वको राजनीतिक परिघटनाका रुपमा लिँदै उनले नेपालमा २००७ सालमा संविधानसभाबाट संविधान बनाउने कुरा उठे पनि ऐतिहासिक जनयुद्ध, बाह्रबुँदे समझदारी र ऐतिहासिक जनआन्दोलनको संयोजनबाट नेपालमा संविधानसभाको निर्वाचनमार्फत नेपाली जनताको चाहना पूरा हुने अवस्था बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्