आन्तरिक हवाई उडानको लागि ५० प्रतिशत टिकट बुकिङ भइसकेको व्यवसायीको दाबी



काठमाडौं असोज ३ ।

पूर्ण सिट क्षमतामा जहाज उडान पाइने भएपछि व्यवसायीले सोमवारदेखि जहाज उडाउने भएका छन् ।

अहिलेसम्म ५० प्रतिशत सिट बुकिङ भइसकेको उनीहरुको दाबी छ । आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एअरलाइन्स, श्री एअरलाइन्स लगायतले ५० प्रतिशत बुकिङ भइसकेको जनाइएका छन् ।

शुरुवाती चरणमा एअरलाइन्सको बुकिङ सन्तोषजनक रहेको वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले बताए ।

एअरलाइन्सले जहाजमा पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि हवाईभाडा पनि नबढ्ने भएको छ । सरकारले तोकेको हवाई भाडादरमै आन्तरिक उडानका वायुसेवा कम्पनीले सेवा सञ्चालन गर्ने सङ्घले जनाएको छ । शुरुको एक हप्ता आन्तरिक उडानका एअरलाइन्सलाई २५ प्रतिशतमात्र उडान अनुमति दिइएको छ ।

छिट्टै उडान सङ्ख्या वृद्धि गरिने कम्पनीले जनाएका छन् । सरकारले असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरे पनि वायुसेवा सञ्चालकले पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने अडान लिएका थिए । अन्तर्राष्ट्रिय उडान भने भदौ १६ देखि नै सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्