घ्याङफेदीका पहिरोपीडितलाई खानेपानी ट्यांकी, फिल्टर लगायत सहयोग



नुवाकोट असोज ३ । जिल्लाको दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीस्थित सिसिपुका पहिरोपीडितलाई खानेपानी ट्यांकी, फिल्टर लगायत सामग्री सहयोग हस्तान्तरण गरिएको छ ।

गैरसरकारी संस्था चेन्ज एक्सन नेपालको तर्फबाट शनिबार १ हजार लिटरको ३ थान ट्याङ्की, सय थान फिल्टर, महिलाहरुका लागि स्यानेटरी प्याड, विद्यार्थीका लागि भलिबल, फुटबल, माक्स, ह्यान्ड स्यानिटाइजर, ह्यान्डवास र थर्मलगन दुइसेट सहयोग हस्तान्तरण गरिएको हो । पहिरो प्रभावित करिब १३४ घरपरिवारका लागि चेन्ज एक्सनको तर्फबाट सहयोग हस्तान्तरणका लागि मानव अधिकारकर्मी इन्दिरा घले र आरोही शर्मिला स्याङ्तान सीसीपु पुगेका थिए ।

अबिरल वर्षापछि भदौ २३ गते पहिरो झर्न थालेपछि सिसिपुका स्थानीय विस्थापित भएर कोही ओडारमा र कोही आफन्तकोमा आश्रय लिन पुगेका थिए । उनीहरुलाई भदौ २९ गते केन्द्रीय सांसद, प्रदेश सांसद, जिल्ला व्यवस्थापन समिति, दुप्चेश्वर गाउँपालिका लगायतको पहलमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो ।

तस्बिरहरु सौजन्य : शर्मिला स्याङ्तान तामाङ

प्रतिक्रिया दिनुहोस्