मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का,प्रधानमन्त्री ओलीले दिए तीन विकल्प



काठमाडौं असोज ४ ।

केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएको छ ।

आइतबार पेरिसडाँडास्थित जनसंगठनको कार्यालयमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले तीन विकल्प दिएसँगै मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएको हो ।

प्रधानमन्त्री ओलीले सबै मन्त्री हटाउने, शुरुमा मन्त्री भएकाहरुलाई र केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने गरी तीन वटा विकल्प बैठकमा राखेका छन् । यता नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय सदस्यहरूले प्रधानमन्त्रीबाहेक सबै मन्त्री हटाउन सुझाव दिएका छन् ।

पेरिसडाँडामा आइतबार बसेको पार्टी सचिवालयको बैठकमा पहिलो कार्यसूचीमाथि प्रवेश गर्दै सदस्यहरूले दुई वर्ष अवधि गुजारेका सबै मन्त्री एकमुष्ठ रूपमा हटाउन सुझाव दिएको वरिष्ठ नेता झलनाथ खनालले बताए ।

बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित अधिकांश सचिवाल सदस्यहरुले भने सबै मन्त्रीलाई एकसाथ हटाउन नहुने धारणा राखेका थिए । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पनि सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनगर्ठनबारे सैद्धान्तिक छलफल भएको सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् ।

एक सचिवालय सदस्यका अनुसार बैठकमा कुरा भएमुताबिक पुनर्गठन र सबै मन्त्री हट्ने छैनन् । यद्यपि मन्त्रीको नामबारे भने छलफल हुन बाँकी छ ।मन्त्री छनोटका लागि दुई अध्यक्षका साथै सचिवालय सदस्यहरुसँग छलफल हुने बताइएको छ ।

यता वरिष्ठ नेता झलनाथ खनाल उपाध्यक्ष बामदेव गौतम, नारायणकाजी श्रेष्ठ प्रकाशलगायतले पनि सबैलाई हटाउनुभन्दा राम्रा काम गरेका र योग्यलाई निरन्तरता दिनुपर्ने बताएका छन् । यसैबीच सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले केन्द्रीय सदस्यहरूलाई पारिश्रमिक दिने भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आइतबारबाट सुरु भएको सचिवालय बैठकमा एजेन्डाकै रूपमा यसले प्रवेश पाएको छ । तेस्रो नम्बरको कार्यसूचीमा रहेको एजेन्डामा नेकपाका केन्द्रीय सदस्यहरूलाई मासिक रूपमा पारिश्रमिक वापत् सुविधा उपलब्ध गराउने विषय रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । थप छलफल गर्न सचिवालयको बैठक सोमबार दिउँसो १ बजे पेरिसडाँडामै बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्