इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमको पहिलो जित



एजेन्सी असोज ४ ।

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले पहिलो जित दर्ता गरेको छ ।

आइतबार साँझ भएको खेलमा साउथह्याम्पटनलाई ५–२ गोल अन्तरले पराजित गर्दै टोटेनहमले पहिलो जित निकालेको हो । साउथह्यामटनको मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर टोटेनहमले सानदार जित निकालेको हो ।

टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सनले ह्याट्रिकसहित चार गोल गरे । ह्यारी केनले एक गोल थपे । साउथह्याम्पटनका ड्यानी इन्ग्सले दुई गोल गरे । तेस्रो मिनेटमा ह्यारी केनले गोल गरेका थिए । तर, भीएआरको सहायताबाट अफसाइड देखिदा केनको गोलले मान्यता पाएन ।

३२ औं मिनेटमा ड्यानीले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाए । ४५ औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए । ४७ औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दा टोटेनहम २–१ ले अघि रह्यो ।

६४ औं मिनेटमा सनले ह्याट्रिक पुरा गर्दै टोलीलाई ३–१ को अग्रता दिलाए । प्रिमियर लिगमा सनको यो पहिलो ह्याट्रिक हो । खेलको ७३ औं मिनेटमा सनले चौंथो गोल गर्दै टोटेनहमलाई ४–१ को अग्रता दिलाए ।

खेलको ८२ औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई ५-१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा ड्यानीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरेपनि साउथह्याम्पटन ५-२ ले पराजित भयो ।

जितसँगै टोटेनहमले २ खेलमा ३ अंक जोडेको छ । टोटेनहम तालिकाको पाँचौ स्थानमा रहेको छ । पहिलो खेलमा टोटेनहम एभर्टनसँग १–० ले पराजित भएको थियो । साउथह्याम्पटनको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा साउथह्याम्पटन क्रिस्टल प्यालेससँग १–० ले पराजित भएको थियो । साउथह्याम्पटन पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्