पर्वतारोही शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने



काठमाडौं असोज ६ ।

सरकारले कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले हिम चितुवा उपनामले चिनिएका पर्वतारोही शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री एवम् सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

अतिरिक्त अक्सिजन विना १० पटक सगरमाथाको शिखरमा पुगेका शेर्पाको सोमबार काठमाण्डौको जोरपाटीमा निधन भएको थियो । अन्तिम सम्मान व्यक्त गर्न आङरिताको शवलाई दुई दिन बौद्धको टुसालमा रहेको शेर्पा सेवा केन्द्रको गुम्बामा राख्ने र बुधबार दाहसंस्कार गरिने नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिए ।

सन् १९८३ देखि १९९६ को बीचमा अतिरिक्त अक्सिजन विना सगरमाथाको सफल आरोहण गरेका शेर्पा आफ्नो समयमा सबैभन्दा चर्चित आरोहीको रुपमा चिनिन्थे । दुई दशकअघि कलेजोसम्बन्धी रोगबाट पीडित भएपछि पर्वतारोहण त्यागेका उहाँलाई चार वर्ष अघि मस्तिष्कसम्बन्धी समस्या देखा परेको थियो ।

कीर्तिमानी पर्वतारोही भए पनि उपचारका लागि सरकारले सहयोग नगरेको उहाँको परिवारले गुनासो गर्दै आएको थियो । शेर्पा सन् १९४८ मा सोलुखुम्बुको यीलाजुङ गाउँको सामान्य परिवारमा जन्मिएका थिए ।

प्रतिक्रिया दिनुहोस्