५ जना फरार अभियुक्त इलामबाट पक्राउ



इलाम ।इलामबाट ५ जना फरार अभियुक्त पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ गरिएकामध्ये २ जना सामूहिक बलात्कार मुद्दाका छन् । उनीहरु हुन्– चुलाचुली गाउँपालिका घर भएका ३० वर्षीय मिलन राई उर्फ अनिश र ३१ वर्षीय जित कुमार राई ।०६४ मा झापा साधुहोली जंगलमा महिलालाई सामूहिक बलात्कार गरेका मिलन र जित कुमारलाई ०६७ मा अदालतले ११ बर्ष १ महिना कैद हुने फैसला गरेको थियो । सो घटनामा संलग्न अर्का एकजना अझै फरार छन् ।

सामूहिक बलात्कारमा संलग्न दुई जनासहित ५ फरार अभियुक्तलाई पक्राउ गरेर अदालतको आदेशले थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका एसपी नवीनराज राईले बताए ।

पक्राउ पर्नेमा सुर्योदय नगरपालिका घर भएका सन्तोष बस्नेत, हर्कबहादुर लिम्बु र माइजोगमाई गाउँपालिका घर भएका विष्णु कुमार राई छन् ।३२ वर्षीय सन्तोष ठगी मुद्दाका फरार प्रतिवादी हुन् । उनलाई अदालतले २ बर्ष कैद र २० हजार जरिवाना हुने फैसला गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा माइजोगमाई गाउँपालिका–२ घर भएका विष्णु कुमार राईलाई अदालतले ५ महिना ६ दिन कैद सजाय हुने फैसला गरेको छ ।त्यस्तै, हातहतियार खरखजना मुद्दाका फरार सुर्योदय नगरपालिकाका ४४ वर्षीय हर्क बहादुर लिम्बुलाई ३ महिना कैद र ५ हजार जरिवाना हुने फैसला गरेको छ ।

पछिल्लो समय बलात्कारका घटना बढ्दै जान थालेका छन् । आरोपमा प्रहरीले विभिन्न ठाउँबाट आरोपीहरुलाई पक्राउ गर्दै आएपनि कमी भने अझै आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्