हवाई भाडा महंगो हुनु स्वभाविक हो : मन्त्री भट्टराई



काठमाडौं असोज ७ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अहिलेको समयमा हवाई भाडा महंगो हुनु स्वभाविक भएको बताएका छन् ।

बुधबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले पछिल्लो समय उडान संख्या अत्यधिक कटौती भएकाले हवाई भाडा महंगो हुनु स्वभाविक भएको बताएका हुन्।

‘जहाँसम्म अन्तराष्ट्रिय उडानहरुको कुरा छ। अहिले विश्वभर विगतमा भन्दा करिब ५० प्रतिशत कम मात्रै उडानहरु भएका छन्। यो हाम्रो देशमा मात्रै उडान कम भएको होइन। जस्तै अमेरिकामा दैनिक ४० हजारभन्दा बढी उडान हुन्थ्यो‚ अहिले २० हजारभन्दा कम छ’ मन्त्री भट्टराईले भने, हामी नजिकैको कुरा गरौँ न भारतमा हामीले उडान लगेका छैनौं। किन लगेका छैनौं भन्दा भारतले पनि नेपालसँग उडान खुल्ला गरेको छैन।’

यसरी कतिपय मुलुकमा अझै उडानहरु खुल्ला हुन नसक्दा स्वभाविक रुपमा उडान संख्या कटौती भएर चौतर्फी प्रभाव परेको बेला हवाई भाडा महंगो हुनु स्वभाविक भएको मन्त्री भट्टराइको भनाइ छ। उनी भन्छन्, ‘उडान संख्या कटौतीको चौतर्फी प्रभाव छ। यात्रुहरुले समयमा उड्न पाउनु भएको छैन। टिकट पाउनु भएको छैन। सस्तोमा टिकट पाउनु भएको छैन। अझ भनौं न टिकटहरु ब्ल्याकमा पनि बिक्री भइरहेको होला।’

परिस्थिति एकदमै प्रतिकुल भएकाले आरोपप्रत्यारोप गर्नुभन्दा पनि सबै मिलेर सहयोगात्मक सम्बन्ध राख्दै अगाडी बढ्नुपर्ने मन्त्री भट्टराईले जोड दिए। कोरोना भाइरससँग भाडेर, डराएर तर्सिएरभन्दा पनि यसको आमुन्नेसामुन्ने रहेर जुध्न आवश्यकता भएको उनले बताए।

विश्वका जुनसुकै कुनामा रहेका नेपालीहरू पनि ७२ घण्टा भित्रको पिसीआर परीक्षणको नेगेटिभ रिपोर्ट पेश गरेर स्वदेश फर्कन सक्ने मन्त्री भट्टराईले जानकारी दिए। उडानसंख्या क्रमशः बढाउने र चार्टरभन्दा पनि नियमित उडानतर्फ केन्द्रित हुने मन्त्री भट्टराईले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्