मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध



चितवन असोज ७ ।

मुग्लिन–नारायणगढ सडक खण्ड फेरि ठप्प भएको छ ।

बुधबार बिहान गएको पहिरो हटाएर केही बेर गाडी चलाउन थाले पनि दिउँसो फेरि चार किलोमा पहिरो खसेको मुग्लिन प्रहरीले जनाएको छ ।

ठूलो पानी परिरहेकाले तत्काल पहिरो पन्छाउन सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । लेदोसहितको पहिरो खसेर सडकमा बसेकाले दुईतर्फी नै गाडी रोकिएको प्रहरीले जनाएको छ ।

वर्षा भएसँगै पहिरोको खतरा भएकाले यो सडक खण्डको यात्रा जोखिमपूर्ण छ । यस्तै पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरीमा भने अहिले एकतर्फी सडक खुलेको छ । त्यहाँ बुधबार बिहान सडकमाथिबाट खसेको पहिरोले दुई वटा कन्टेनर पनि पुरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्