कपिलवस्तुमा खोलाले विद्युतको जीप बगायो, एक जनाको मृत्यु, २ बेपत्ता



कपिलवस्तु असोज ७ ।

कपिलवस्तुको मोतिपुरस्थित कोइली खोलामा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको कर्मचारी सवार जिप बगाउँदा एकजनाको मृत्यु भएको छ भने अन्य २ जना बेपत्ता भएका छन् ।

तीन जनाले भने जिपबाट हामफालेर ज्यान बचाएका छन् । मृत्यु हुनेमा गुल्मी जिल्लाको तम्घास घर भएका जिप चालक माधव पाण्डे रहेको शसस्त्र प्रहरी उपरीक्षक धुब्रबहादुर कार्कीले बताए ।

प्राधिकरणको कपिलवस्तुस्थित बाणगंगा जितपुर फिडर सेवाको बा १ ञ १०८९ नम्बरको जिप बुधबार बाढीले बगाउँदा सोही फिडरका इन्चार्ज कृष्णप्रसाद पौडेल र सवारी चालक माधव पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाणगंगा नगरपालिकाको बनगाइ भलवाड डोहोटे सडकखण्डको मोतिपुरस्थित कोइली खोलामा आएको बाढीले उनीहरु सवार जिप बगाएको हो । जितपुरबाट पडेरियामा रहेको ट्रान्सफर्मरमा फ्युज बनाएर फर्किने क्रममा उनीहरु सवार जिप बाढीले बगाएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोलीले बेपत्ताहरुको खोजी कार्य जारी राखेको कार्कीले बताए । बाढीले बगाएको जिपलाई भने जेसीबी लगाएर निकालिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्