अर्घाखाँचीमा पहिरोले २० घर बगायो



अर्घाखाँची असोज ९ ।

अर्घाखाँचीको शीतगङ्गा नगरपालिका १२ को कोठिया मैदानमा पहिरोले २० घर बगाएको छ ।

शीतगङ्गा नगरपालिका वडा नं १२ को जख्रेगैरा, पहरेपानी, मैदानलगायतका ठाउँमा जमिन भासिएर माथिबाट पहिरो खस्दा २० घर र २० घरका गोठ पहिरोले पुरेको वडाध्यक्ष बाबुराम गैरेले बताए ।

पहिरोले मानवीय क्षति भने गरेको छैन । पहिरोले घर पुरेपछि २० घरका एक सयभन्दा बढी स्थानीयलाई गौरा माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक डीएसपी माधव बुढाथोकीले जानकारी दिए ।

पहिरो खस्ने क्रम नरोकिएकाले घरहरु पुरिने क्रम बढ्न सक्ने प्रहरीको भनाइ छ । ती गाउँका अरु २० भन्दा बढी घर पहिरोको जोखिममा रहेका छन् । मानवीय क्षति नभए पनि पशु चौपायाहरू कति पुरिए भन्ने अझै जानकारी भएको छैन ।

अहिले प्रहरी र स्थानीयहरुले उद्धार गरिरहेको स्थानीय हरी गैरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्