दशैं तिहारमा समेत लकडाउन हुने सम्भावना



काठमाडौं असोज १० ।

काठमाडौं लगायतका केही जिल्लामा दशैं तिहारमा समेत लकडाउन हुने सम्भावना बढेको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार भन्दा धेरै भए देशको स्वास्थ्य प्रणालीले थेग्न सक्न नसक्ने भएकाले त्यस्तो अवस्थामा विभिन्न ठाउँमा पुनस् लकडाउन गर्नुको विकल्प नहुने निष्कर्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेको छ।

काठमाडौं उपत्यका सहित देशका केही जिल्लामा दिनदिनै संक्रमितको संख्या थपिदै गएपछि दशैं तिहार र छठको समयमा पनि लकडाउन लगाउनुपर्ने अवस्था आउने सम्भावना बढेको हो ।

यसको सङ्केत मन्त्रालयले तीन दिनअघि गरेको नियमित प्रेस ब्रिफिङमा दिइसकेको छ। २५ हजार भन्दा बढी सक्रिय संक्रमित भए लकडाउन गर्नुको विकल्प नरहने मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए । यसअघि लगाइएको लकडाउन र निषेधाज्ञा हटाइएपछि केही जिल्लामा सङ्क्रमणको दर रोकिएको छैन ।

भदौ २४ गतेदेखि दैनिक १ हजार भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्। दैनिक थपिने सङ्क्रमितमध्ये आधाजसो काठमाडौँ उपत्यकामा हुने गरेका छन्। उपत्यकामा बाहेक अहिले मोरङ, सिराहा, चितवन र रूपन्देहीमा सक्रिय सङ्क्रमितको सङ्ख्या धेरै छ।

सङ्क्रमणबाट निको दर पनि केही सातायता ७० प्रतिशतभन्दा माथि कायम छ। शुक्रवार नेपालमा सङ्कक्रमितको कुल सङ्ख्या ७० हजार नाघेको थियो। रोगमुक्तहुने सङ्क्रमितको सङ्ख्या ५१ हजार ८ सय पुग्दा सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार नाघेको थियो। स्वास्थ्य मापदण्ड पालना नहुँदा संक्रमितको संख्या बढ्दै गएको सरकारको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्