कोरोनाको खोप प्रयोगमा आउनुअघि नै २० लाख बढी मानिसको मृत्यु भइसक्ने डब्लूएचओको चेतावनी



एजेन्सी असोज १० ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको खोप प्रयोगमा आउनुअघि नै विश्वभर २० लाख भन्दा बढी मानिसको मृत्यु भइसक्ने चेतावनी दिएको छ ।

विश्वभर विभिन्न प्रकारको खोपको परीक्षण भइरहेका बेला डब्लुएचओले यस्तो चेतावनी दिएको हो । अमेरिका, बेलायत लगायतका मुलुहकहरुले कोरोनाविरुद्धको खोप तयार पारेर परीक्षण गरिरहेको बताएपनि डब्लुएचओले थप परीक्षण आवश्यक रहेको भन्दै सर्वसाधारणले प्रयोग गर्ने अनुमति दिएको छैन ।

डब्लुएचओका आपतकालीन प्रमुख डा माइक रायनले कोरोना महामारीविरुद्ध विश्वले सामुहिक प्रतिवद्धता जनाएर अघि नबढेसम्म नियन्त्रणमा नआउनेसमेत बताए । गत वर्ष चीनबाट सुरु भएको कोरोना महामारीका कारण विश्वभर करिब १० लाख मानिसको मृत्यु भइसकेको छ ।

कोरोनाका कारण विश्वभर तीन करोड २७ भन्दा बढी संक्रमित भएका छन् । संक्रमण बढ्ने दर अझै नियन्त्रणमा नआएकाले खोपको उपलब्धता अघि नै अझै मानविय क्षति हुने डब्लुएचओले अनुमान गरेको हो । उत्तरी गोलार्धमा रहेका मुलुकहरुमा जाडो मौसम सुरु भएसँगै पुनः कोरोना संक्रमितहरु थपिएको डब्लुएचओले जनाएको छ ।

हालसम्म अमेरिका, भारत र ब्राजिलमा सबैभन्दा बढी संक्रमित रहेको अन्तर्राष्टिय समाचार संस्थाहरुले जनाएका छन् । तर पछिल्ला दिनहरुमा युरोपमा पनि संक्रमण र मृत्युको दर बढ्दै गएको भन्दै डब्लुएचओले चिन्ता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्