पर्यटन क्षेत्रका मजदुरहरु आन्दोलित,पर्यटनमन्त्री भट्टराईको राजीनामा माग



काठमाडौं असोज ११ ।

कोरोना भाइरसको महामारीका कारण पर्यटन व्यवसाय ठप्प हुँदा जीविकामै गम्भीर समस्या भएपछि पर्यटन क्षेत्रका मजदुरहरु आन्दोलित भएका छन् ।

सरकारले महामारीका कारण उत्पन्न संकटपूर्ण अवस्थामा पर्यटन क्षेत्रका मजदुरको अधिकार र अस्तित्व रक्षाका लागि कुनै पनि काम नगरेको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् ।
पर्यटन मजदुर संघर्ष समितिले आइतबार पर्यटन बोर्ड अघि नाराबाजीसहित प्रर्दशन गरेको छ । उनीहरुले पर्यटन मजदुरको सुरक्षा तथा रोजीरोटीको सुनिश्चितताको माग गरेका छन् ।

आन्दोलित पर्यटन मजदुरले आफूहरुको हितमा पर्यटन मन्त्रीले काम गर्न नसकेको भन्दै राजीनामा माग गरी नारा पनि लगाएका छन् । मजदुरहरु माइतीघर मण्डलाबाट नाराबाजीसहित पर्यटन बोर्ड गएका हुन् । नेपालको पर्यटन क्षेत्रको रक्षाका लागि सरकारले काम गर्न नसकेको उनीहरुले आरोप लगाएका छन् ।

पयर्टन व्यवसाय गएको चैतदेखि नै ठप्प रहेको छ। यसले गर्दा पर्यटन क्षेत्र नै बन्द हुने र आफूहरुको रोजीरोटी नै सदाका लागि खोसिने अवस्था आएकाले आन्दोलन गर्नु परेको उनीहरुले बताएका छन् । उनीहरुले आइतबार पर्यटन दिवस भए पनि आफूहरुका लागि यो कालो दिन रहेको भन्दै नाराबाजी गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्