ढोरपाटनका बाढी प्रभावितलाई जापानबाट २७ लाख ८० हजार



जापान असोज १२ । गलकोट समाज जापानले ढोरपाटनका बाढी प्रभावितका लागि २७ लाख ८० हजार ४७८ रुपैयाँ राहत सहयोग गरेको छ ।

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले राहत कोषमा दाखिला भएको रकमको भौचर आइतबार ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरे । रोजगारीका सिलसिलामा जापानमा रहेका ६०० भन्दा बढी प्रवासी नेपालीबाट बाढी प्रभावितका लागि राहत रकम सङ्कलन गरिएको थियो । बाढी प्रभावितको पुनर्स्थापनामा सघाउन राहत अभियान चलाइएको समाजका अध्यक्ष दिलु खत्रीले बताए ।

समाजले दिएको सहयोग रकम बाढीमा बास गुमाएका परिवारको घर निर्माणमा खर्च गरिने ढोरपाटनका नगर प्रमुख देवकुमार नेपालीले बताए । उनले समाजका तर्फबाट बाढी प्रभावित छ परिवारका लागि रु पाँच लाख बराबरको घर बनाइदिने प्रतिबद्धता जनाए । गलकोटका नगर प्रमुख गैरेले राहतको सही सदुपयोग हुनेमा विश्वास व्यक्त गरे ।

गत भदौ १७ गते भुजीखोलामा आएको बाढीले सयौँ परिवार घरवासविहीन बनेका छन् । बाढीमा परी २२ जनाको ज्यान गएको थियो भने १५ अझै बेपत्ता छन् । कैयौँ भौतिक संरचनामा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्