मिटर रिडिङ नभएका ग्राहकलाई जरिबाना नलाग्ने



काठमाडौं असोज १३ ।

कोरोना भाइरस कोभिड–१९ प्रकोपका समयमा मिटर रिडिङ हुन नसकेका कारण नेपाल विद्युत् प्राधिकरणका ग्राहकलाई जरिबाना नलाग्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले प्राधिकरणका कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेलाई मङ्गलबार मन्त्रालयमा बोलाएर तत्काल जरिबाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

कोरोना नियन्त्रणका लागि गरिएको लामो लकडाउनका कारण प्राधिकरणका अधिकांश गार्हस्थ्य र औद्योगिक ग्राहकको मिटर रिडिङ हुन सकेको थिएन । कतिपय ग्राहकबाट त्यस अवधिमा मिटर रिडिङ नभएका कारण जरिबाना लगाइएको गुनासो आएपछि मन्त्री पुनले तत्काल प्राधिकरणको उच्च नेतृत्वलाई बोलाएर जरिबाना नलगाउन निर्देशन दिएका हुन् ।

मन्त्री पुनले यसअघि जरिबाना लिइएको भए त्यो रकम ग्राहकले आउने महिना बुझाउने शुल्कमा मिलान गर्न पनि निर्देशन दिनुभएको छ । मन्त्री पुनले यो अवधिको तत्काल मिटर रिडिङ गराउन र कर्मचारी गएर रिडिङ गर्न नसेकेको अवस्थामा ग्राहक आफैलाई मिटरको नम्बर टिपाएर शुल्क लिन पनि आग्रह गरेका छन् ।

यसैबीच प्राधिकरणले मन्त्री पुनको निर्देशन तत्काल कार्यान्वयन गरेको छ । आफूले मन्त्रालयबाट कार्यालय फर्केलगत्तै जरिबाना नलिन देशभरका वितरण केन्द्रलाई एकैसाथ निर्देशन दिइसकेको र सार्वजनिक सूचनासमेत जारी गर्न लागिएको निमित्त कार्यकारी निर्देशक कोइरालाले बताए ।

मन्त्री पुनले खराब मौसम, प्रणालीको खराबी वा अरु प्राविधिक कारणले विद्युत् अनियमित भए तत्काल समस्या समाधान गर्न निर्देशन दिए । त्यसका लागि ‘इमिडेट रेस्पोन्स टोली’ बनाउन उनको सुझाव छ ।

लकडाउनयता ९० लाख विद्यार्थी घरमै बसेर अनलाइन कक्षा लिइरहेको भन्दै मन्त्री पुनले विद्युत् नियमित नभए उनीहरुको पढाइ प्रभावित हुन स्पष्ट पारे । प्राधिकरणको मूल नेतृत्व नभएको समयमा वितरण प्रणालीमा कुनै कमजोरी आउन नदिन मन्त्री पुनले निर्देशन दिए ।

यस्तै मन्त्री पुनले मौसमलगायतका कारण अनियमित भएको विद्युत् सेवा तत्काल सुरु गराएकामा प्राधिकरण नेतृत्वलाई धन्यवाद दिए ।

मन्त्री पुनले लकडाउन अवधिमा सरकारले गार्हस्थ्य र औद्योगिक ग्राहकलाई दिने भनेको छुट तत्काल कार्यान्वयन गर्न पनि निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्