दसैँमा उपत्यकामा खसीबोका र च्याङ्ग्राको कारोबार घट्यो



काठमाडौँ, कात्तिक ८ । यस वर्षको दसैँमा काठमाडौँ उपत्यकामा ९७ करोड रुपियाँ बराबरको खसीबोका र च्याङ्ग्राको कारोबार भएको छ। चौपाया खरिदबिक्री सङ्घका अनुसार दसैँको एक सातामा ४० हजार खसीबोका र च्याङ्ग्रा बिक्री भएका हुन्।

गत वर्ष एक अर्ब १६ करोड रुपियाँ बराबरको कारोबार भएकोमा यस वर्ष माग घट्दा कारोबारमा कमी आएको हो। सङ्घका अध्यक्ष जीवनराज खड्काका अनुसार गत वर्ष ५५ हजार बिक्री भएकोमा यस वर्ष ४० हजारमा सीमित भएको छ।

यस वर्ष जिउँदो खसीबोकाको मूल्य प्रतिकेजी ८७० देखि ९२० रुपियाँ पुगेको छ, जुन गत वर्ष ७२० देखि ७५० रुपियाँ थियो। च्याङ्ग्राको मूल्य भने प्रतिकेजी एक हजार २५० रुपियाँ रहेको छ। तयारी खसीबोकाको मासु प्रतिकेजी एक हजार ७०० देखि एक हजार ७५० रुपियाँसम्म पुगेको छ।

बाढीका कारण धेरै परिवार शोकमा पर्नु, मूल्य वृद्धि हुनु र बजारमा खसीबोका कम भित्रिनुले माग घटेको व्यवसायीको भनाइ छ। विगतमा बजार मूल्य नियन्त्रण गर्न खसीबोका बिक्री गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष बिक्री नगर्दा पनि मूल्य बढेको व्यवसायीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्