तामाङ सम्पदा र रुविभ्याली पदमार्ग पर्यटकका लागि खुला
काठमाडौं,कात्तिक ८ । रसुवा र धादिङमा रहेका तामाङ सम्पदा र रुविभ्याली पदमार्ग पर्यटकका लागि खुला भएका छन्। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्याएको स्याफ्रुबेँसीमा अस्थायी फड्के पुल निर्माण भएपछि दुवै पदमार्ग सञ्चालनमा आएका हुन्।
रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेका अनुसार तामाङ सम्पदा पदमार्गमा वार्षिक करिब एक हजार स्वदेशी तथा विदेशी पर्यटकले पदयात्रा गर्दै आएका छन्। यस पदमार्गबाट स्याफ्रुबेँसी, बाहुनडाँडा, गोल्जुङ, गत्लाङ हुँदै पार्वतीकुण्ड पुग्न सकिन्छ। सातदेखि १० दिनसम्म पदयात्रा गर्न सकिने यस क्षेत्रबाट गणेश हिमाल, लाङटाङ हिमशृङ्खला र चिनियाँ सिमानाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।
तामाङ सम्पदा पदमार्ग हुँदै धादिङको रुविभ्याली पुग्न सकिन्छ। सोम्ताङ, पाङ्साङ पास, सेतोदह र कालोदह हुँदै गङ्गाजमुना तथा गोरखाको मनास्लु क्षेत्रसम्म पदयात्रा गर्न सकिने पर्यटन व्यवसायी राकेश धमलाले जानकारी दिए। रुविभ्याली पदमार्गमा वार्षिक चारदेखि पाँच सय पर्यटक आउने गरेका छन्।
यसअघि नै लाङटाङ, क्यान्जिन र गोसाइँकुण्ड क्षेत्रका पदमार्गसमेत खुला भइसकेका छन्। बेत्रावतीमा बेलीब्रिज निर्माण भएपछि लाङटाङ पुग्न वैकल्पिक पदमार्ग उपलब्ध भएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालले जनाएको छ। टानले पदयात्रामा जानुअघि पदमार्गको पछिल्लो अवस्था बुझेर आवश्यक सुरक्षा सावधानी अपनाउन पर्यटक तथा पर्यटन व्यवसायीलाई आग्रह गरेको छ।

