मौसम बदलिए एनपीएलका खेल प्रभावित हुन सक्ने
काठमाडौं,कात्तिक ८ । बंगालको खाडीमा विकसित हुँदै गरेको न्यून चापीय प्रणालीका कारण आगामी साता नेपालको मौसम प्रभावित हुन सक्ने भएपछि नेपाल प्रिमियर लिग (एनपीएल) का खेलमा समेत असर पर्ने सम्भावना देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कात्तिक १० देखि १५ गतेसम्म देशका विभिन्न क्षेत्रमा मौसममा फेरबदल हुन सक्नेछ। मंगलबारसम्म मौसम सामान्यतया सफा रहे पनि बुधबारदेखि न्यून चापीय प्रणालीको प्रभावले वर्षा हुन सक्ने विभागले जनाएको छ।
वर्षा भएमा एनपीएलका खेल सञ्चालन, समयतालिका र दर्शकको आवागमनमा असर पर्न सक्छ। यद्यपि, खेल प्रभावित हुने वा स्थगित गर्नुपर्ने अवस्था आउनेबारे अहिलेसम्म निश्चित भइसकेको छैन।
मौसमविद् रोजन लामिछानेले पनि न्यून चापीय प्रणालीले देशका अधिकांश भूभागमा प्रभाव पार्न सक्ने सम्भावना रहेकाले बाह्य कार्यक्रम, भ्रमण र खेलकुद गतिविधिको योजना बनाउँदा मौसमको पछिल्लो अवस्थालाई ध्यान दिन आग्रह गरेका छन्।

