दसैँको अन्तिम दिन सुनको मूल्य ११ हजार ७ सय रुपैयाँ घट्यो
काठमाडौं,कात्तिक ८ । बडादसैँको अन्तिम दिन अर्थात कोजाग्रत पूर्णिमाका दिन आज आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य घटेर प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँ कायम भएको छ। यसअघि गत सोमबार सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २३० रुपैयाँले घटेको छ। गत सोमबार प्रतितोला ४ हजार १८५ रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार घटेर ३ हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

