आन्तरिक उडानमा यात्रुको चाप, बिहीबारबाट उडान थप हुँदै



काठमाडौं असोज १४

असोज ५ देखि खुलेको आन्तरिक उडानमा यात्रुको चाप बढ्दा उडान थप हुने भएको छ।

२५ प्रतिशत मात्रै नियमित उडान हुँदा ९० प्रतिशत बढी यात्रु रहेको वायुसेवा कम्पनीले बताएका छन् । यात्रु बढ्नुको मुख्य कारण हवाइ भाडा कम र स्वास्थ्य सुरक्षा राम्रो भएको वायुसेवा कम्पनीहरुको दाबी छ। आन्तरिक उडानमा बढी उडान गरिरहेका बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सले यात्रुको आउजाउ राम्रो भएको बताएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुको आवागमन राम्रो हुँदा उडान थप गर्न लागेको बताएको छ।सरकारले असोज १ देखि नै लामो दूरीको सार्वजनिक यातायात खोले पनि ५० प्रतिशत थप भाडा लिन पाउने व्यवस्थाले यात्रु हवाइ यात्रामा आकर्षण भएको हुनसक्ने वायुसेवा कम्पनीले बताएका छन्।

‘हवाइको भाडा एकदम न्यून रहेको अवस्थामा बसको भाडा बढेको छ। हवाइ यात्रा गर्दा छिटो पनि पुगिने र स्वास्थ्य सुरक्षामा पनि धेरै ध्यान दिएको हुँदा हवाइ यात्रु बढेको’ एयरलाइन्सको भनाइ छ।कम्पनीहरुका अनुसार लकडाउन र निषेधाज्ञापछि खुलेको आन्तरिक उडानका यात्रुको आकर्षण देखिएको छ ।

अहिले हवाई उडानका ९० प्रतिशतभन्दा माथि सीट भरिएको छन् । नेपाल नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि ५ असोजबाट उडान थाल्दा १४ असोजसम्मको उडान तालीका दिएको थियो ।

यसबीचमा हवाई यात्रुको बढ्दो चापकाबीच प्राधिकरणले कम्पनीहरुलाई दैनिक दिएको उडानको कोटा बढाएको हो । प्राधिकरणका अनुसार अब बुद्ध एयरले दैनिक २५ वटा उडान गर्न पाउने छ ।यसअघि दैनिक १८ वटा उडानको अनुमति बुद्ध एयरलाई दिइएको थियो । अब यति एयरलाइन्सले दैनिक १८ वटा उडान गर्न सक्ने भएको छ । यसअघि उसलाई ११ वटा उडानको अनुमति थियो ।

प्राधिकरण स्रोतका अनुसार श्री एयरले भने दैनिक १२ उडानको अनुमति पाएको छ । यसअघि श्रीको ६ उडानलाई मात्र अनुमति थियो ।प्राधिकरणले सिम्रिक र सौर्यलाई २र२ उडानको अनुमति दिएको छ । यसअघि यी दुई एयरलाइन्सलाई एकरएक उडानको अनुमति दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्