प्यूठानमा ५० शय्याको आइसोलेसन कक्ष स्थापना



साझापथ संवाददाता

प्युठान,भदौ १६ । प्यूठानमा ५० शय्याको आइसोलेसन कक्ष स्थापना गरिएको छ ।

कोरोना भाइरसका शंकास्पद बिरामीको परिक्षण तथा उपचारका लागि प्यूठान नगरपालिका-४ बिजुवार स्थित निर्माणाधीन जेष्ठ नागरिक भवनमा ५० शय्याको आइसोलेसन केन्द्र स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । ‘कोरोना संक्रमणको जोखिम कम गर्न आइसोलेशन कक्ष स्थापना गरिएको हो ।’ उनले भने। एम्बुलेन्स, शववहान र स्वास्थ्यकर्मीसहितको जनशक्तिको समेत व्यवस्थापन भएपछि आइसोलेसन केन्द्र सञ्चालमा ल्याइएको भुसालले बताए । आवश्यकता अनुसार शैय्या थप्न सकिने उनको भनाई छ ।

आइसोलेसन केन्द्रको सुरक्षा गर्ने जिम्मा भने नेपाली सेनालाई दिइएको छ। बिरामीको खाना खर्च र उपचार खर्च प्रदेश सरकारले ब्यबस्थापन गरेको र अन्य ब्यबस्थापन खर्चमा जिल्लाका ९ वटै स्थानीय तहले सघाउनुपर्ने प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए ।

यसअघि प्यूठान नगरपालिका-४ टारीस्थित सिएमए तालिम केन्द्रमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने योजना अगाडि बढेपनि पूरा हुन सकेको थिएन ।यो समाचार तयार गर्दा सम्म जिल्लामा ४ सय ४५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये सक्रिय संक्रमित ५९ जना छन् । १ जना कोरोना संक्रमितको मृत्यु भएको र ३ सय ८८ संक्रमित निको भएर घर गएको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्शन पुस्कल श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्