बंगलादेशसँग ५० हजार टन मल पैंचो लिइने



काठमाडौं,भदौ १६ । खेतीपातीको मुख्य समयमै रासायनिक मल अभाव भएपछि सरकारले बंगलादेशसँग पैंचो (सापटी) लिन गृहकार्य थालेको छ । हालको अभाव टार्न ५० हजार टन युरिया मल पैंचोका लागि दुई देशका कृषि मन्त्रालयका अधिकारी समझदारीनजिक पुगेका छन् । ‘सम्भवतः आगामी सातासम्ममा सम्झौता हुन्छ,’ कृषि तथा पशुपक्षी विकास मन्त्रालय स्रोतले भन्यो ।

पर्वतको कुश्मा–९ कटुवाचौपारीका किसान धानमा मल छर्दै । समयमै वर्षा भएकाले यो वर्ष रोपाइँ छिट्टै सकिए पनि मल नपाएर किसान हैरान छन्। पैंचो मलका लागि बंगलादेशका अधिकारीहरूसँग भएको अनौपचारिक छलफल सकारात्मक देखिएपछि कृषिमन्त्री घनश्याम भुसालले आयात प्रक्रिया सुरु गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुमति मागेको स्रोतले जनाएको छ । ‘हाललाई बंगलादेशबाट लिइहाल्ने र पछि ग्लोबल टेन्डर गरी त्यति नै परिमाण मल बंगलादेशलाई नेपालले दिने गरी प्रक्रिया अघि बढाउने विषयमा मन्त्री र प्रधानमन्त्रीबीच छलफल चलेको छ,’ स्रोतले भन्यो, ‘त्यसका आधारमा अब चाँडै प्रक्रिया अघि बढ्छ । बढीमा दुई महिनाभित्र त्यो मल नेपाल आइपुग्नेछ ।’

मन्त्री भुसालले बंगलादेशबाट मल ल्याउन प्रक्रिया अघि बढेको स्वीकार गरे । कुन विधि र पद्धतिबाट ल्याउने भन्ने विषय भने सम्झौताको समयमा मात्रै तय हुने उनको भनाइ छ । मलको परिमाण, ल्याउने प्रक्रिया र विधि (सापटी वा सहयोग) बारे बंगलादेशका अधिकारीहरूसँग त्यहाँस्थित नेपाली राजदूत डा. वंशीधर मिश्रले कुराकानी गरिरहेका छन् । ‘एक महिनादेखि नै अनौपचारिक छलफल गरिरहेका थियौं,’ मन्त्री भुसालले भने, ‘अहिले औपचारिक तवरबाट प्रक्रिया सुरु गरिएको छ । तत्कालको अभाव टार्ने गरी मल आउने आशाको संकेत मिलेको छ । यसले हिउँदे बालीनालीलाई समेत पुर्‍याउन सकिन्छ कि भन्ने अनुमान गरेका छौं ।’

मन्त्रालय स्रोतका अनुसार मल सापटी माग्दै औपचारिक पत्र लेख्न बंगलादेशले भनिसकेको छ । ‘उनीहरूले तिमीहरू कसरी लैजान्छौ भन्ने प्रश्नसमेत गरिसकेका छन् । यी विषय सम्झौतामा टुंग्याऔं भन्ने हाम्रो भनाइ हो,’ वार्तामा संलग्न मन्त्रालयका एक अधिकारीले भने, ‘ढुवानी सुरु गरेको २५ दिनभित्र सबै ल्याइदिने मोटामोटी कुराकानी भइसकेको छ । यसकारण दुई महिनाभित्र मल आउन सक्छ ।’

धान रोपाइँका बेला डीएपी मल चाहिन्छ । रोपाइँपछि धानलाई युरिया मल दिनुपर्छ । तर हरेक वर्ष मल अभाव भइरहेको छ । समयमै टेन्डर नहुने र टेन्डरपछिको सम्झौताअनुसार ठेकेदारले मल नल्याइदिँदा हरेक वर्ष किसानले अभाव खेप्नुपरेको छ । यस वर्ष पनि मलको पर्याप्त मौज्दात छैन । कोभिड–१९ को सन्त्रासका कारण श्रमिक अभावले मल लोड गर्न नसक्दा ढुवानी नै हुन नसकेर यसपटक अभाव खेप्नुपरेको मन्त्रालयले जनाउँदै आएको छ ।

मन्त्रालयको विवरणअनुसार डीएपी करिब १० हजार टन मौज्दात छ । युरिया छैन । साल्ट ट्रेडिङ कर्पोरेसनले आयात गरेको साढे ६ हजार टन युरिया बिक्री भइरहेको छ । युरियाको चरम अभाव देखिएपछि कृषि मन्त्रालयले तत्कालका लागि बंगलादेशबाट सापटी ल्याउने तयारी थालेको हो । ‘बंगलादेशबाट मल सापटी ल्याउन सकियो भने छिमेकी मुलुक चीन, भारत तथा अन्य देशहरूसँग भइरहेको द्विपक्षीय सहयोगमा नयाँ अध्याय सुरु हुनेछ,’ मन्त्रालयका ती अधिकारीले भने ।

यो समाचार राजु चाैधरीले कान्तिपुर दैनिकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्