नेपाल–भारत हवाई उडान कात्तिक १ देखि खोल्न प्रस्ताव



काठमाडौं असोज १६ ।

नेपाल–भारत हवाई उडान कात्तिक १ देखि खोल्न प्रस्ताव गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतका लागि हवाई उडान सुरु गर्न प्रस्ताव गरेको हो । योसँगै मन्त्रालयले आगामी १ कात्तिकबाट भारतको उडान खोल्न प्रस्ताव गरेको हो । चैत ११ पछि भारतमा नियमित उडान भएको छैन ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीमा मन्त्रालयले यस्तो प्रस्ताव पठाएको मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले जानकारी दिए ।‘ मन्त्रालयले मिति प्रस्ताव गरी सीसीएमसीमा पठाएको तर निर्णय भने भइनसकेको उनले बताए ।

१ कात्तिकमा उडान खोल्नेबारे प्रस्ताव सीसीएमसीबाट पास भएमा यो निर्णय मन्त्रिपरिषदमा जाने छ । मन्त्रिपरिषदले पास गरेपछि मात्र भारतका लागि उडान खोल्ने औपचारिक निर्णय हुनेछ ।

भारतमा उडान खुलेपनि नेपाल आउने नागरिकका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड भने अन्य गन्तब्य सरह हुनेछन् ।प्रस्तावअनुसार नेपाल आउन चाहने यात्रुसँग बढीमा ७२ घण्टा अगाडीसम्मको पीसीआर परीक्षण नेगेटिभ भएको प्रमाण हुनुपर्छ । एउटै जहाजबाट नेगेटिभ र पोजेटिभ रिपोर्ट भएका यात्रु ल्याउन पाइने छैन ।

त्यसरी आएमा सबै होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ । पीसीआर नेगेटिभ भएका नेपालीको हकमा १४ दिन होम क्वारेन्टिनमा बस्नु पर्नेछ । विदेशीको हकमा अनिवार्य ७ दिन होटेल क्वारेन्टिनमा बस्नुपर्छ ।यता भारतमा बढ्दो कोरोना भाइरसको संक्रमणका कारण सरकारले भारतका लागि उडान खोल्नेबारे निर्णय लिइसकेको छैन ।

तर, नजिकिएको दशैं, भारतमा उपचार र अध्ययनका लागि जानु पर्ने वा त्यहाँबाट फर्कनु पर्ने ठूलो संख्यामा नेपाली हवाई उडान खुल्ने मितिको प्रतिक्षामा छन् ।नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एयर बबल स्किममा सहभागी हुन सक्ने गरी भारतले गत अगस्टमै नेपाललाई सन्देश पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्