सुदूरपश्चिम प्रदेशका तीनवटा विमानस्थलको एकैदिन उद्घाटन



काठमाडौं असोज १७ ।

सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गरिएको छ ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिवार विमानस्थलको उद्घाटन गरेका हुन् ।मन्त्री भट्टराईले कालोपत्रेसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका बैतडीको पाटन, बझाङको चैनपुर तथा डोटीको दिपायल विमानस्थलहरुको उद्घाटन गरे ।

दिपायल विमानस्थलको उद्घाटनका क्रममा मन्त्री भट्टराईले सुदूरपश्चिमका पर्यटकीय स्थल खप्तड, मानसरोवरलगायतका क्षेत्रमा पर्यटक भित्र्याउनका लागि भए पनि यहाँका तीन जिल्लामा रहेका विमानस्थलहरुमा नियमित रुपमा जहाज सञ्चालन गरिने बताए ।

मन्त्री भट्टराईले यहाँका पहाडी जिल्लामा नियमित रुपमा विमानस्थल सञ्चालनका लागि समिट एयरसहितका केही निजी विमान कम्पनीसँग सम्झौताको तयारी भइरहेको समेत जानकारी गराए ।मन्त्री भट्टराईले विमानस्थलहरुको टर्मिनल भवन तथा एटीसी भवनहरु नयाँ निर्माणका लागि पनि आवश्यक पहल भइरहेको बताउँदै यात्रु अभावका कारण देखाएर लामो समयदेखि बन्द अवस्थामा रहेका यहाँका विमानस्थलहरुको थप स्तरोन्नती गरिने प्रतिवद्धता जनाए ।

साथै ४९० मिटर लम्बाइको रनवे रहेको डोटीको दिपायल विमानस्थलको रनवेलाई एक हजार मिटर बनाउनका लागि अध्ययन गर्न मन्त्रालयले नागरिक उड्यन प्राधिकरण विभागबाट तत्कालै प्राविधिक टोली पठाइने समेत उनले बताए । तीन वटा विमानस्थल उद्घाटनसँगै अब सुदूरपश्चिमको उडान सहजता र पर्यटन विकास हुने स्थानीयबासीले आशा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्