आईपीएल टी–ट्वान्टी क्रिकेटमा राजस्थान ब्यांग्लोरसँग ८ विकेटले पराजित



एजेन्सी असोज १७ ।

रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।

अबुधाबीमा शनिबार राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोरले तेस्रो जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य बैंगलोरले १९ ओभरमा १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

बैंगलोरको जितमा कप्तान विराट कोहलीले ७२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५३ बलमा ७ चौका र ६ छक्का प्रहार गरे । यस्तै कोहलीले यस खेलसँगै आईपीएलमा आफ्नो ५ हजार ५ सय रन समेत पुरा गरे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । राजस्थानका लागि महिपाल लोमररले सर्वाधिक ४७ रन बनाए । यस्तै जोस बट्लरले २२ रन जोड्दा कप्तान स्टिभ स्मिथ ५ रनमा आउट भए ।

रोबिन उथप्पा १७ रनमा आउट हुँदा रियान परागले १६ रन जोडे । राहुल टेवाटियाले अविजित २४ रन जोड्दा जोफ्रा आर्चरले अविजित १६ रन बनाए । बैंगलोरका युजभेन्द्र चाहलले ३ विकेट लिए । इसुरु उडानाले २ तथा नाभदिप सैनीले १ विकेट लिए । जितसँगै बैंगलोर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बैंगलोरले ४ खेलमा ६ अंक जोडेको छ । राजस्थानको यो दोसो हार हो । छैटौं स्थानको राजस्थानले ४ खेलमा ४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्