८० प्रतिशतले घट्यो गलैंचाको ब्यापार



काठमाडौं, असोज १९ । लकडाउन तथा बन्दाबन्दीको सुरुवातदेखि नै ठप्प रहेको गलैंचा उद्योगको व्यापार ८० प्रतिशतले घटेको छ । कोरोना महामारीका कारण अन्तरराष्ट्रिय बजारसमेत प्रभावित भएकाले गलैंचाको मागमा समेत कमी आएको बताइएको छ ।

नियमित उडान खुलिसकेको अवस्थामा समेत अन्तरराष्ट्रिय बजारमा गलैंचाको माग नहुँदा व्यापार घटेको छ र निर्यात पनि प्रभावित बन्न पुगेको छ ।

नेपालमा उत्पादित गलैंचाको निर्यात अमेरिका, जर्मनी, बेलायत, इटाली, फ्रान्स, क्यानडा, बेल्जियम र अस्ट्रेलियालगायत ५० भन्दा बढी मुलुकमा हुने गर्छ । यसमध्ये करीब ७० प्रतिशत गलैंचा अमेरिकामा निर्यात हुने गरेको छ । तर, अमेरिका कोरोना महामारीको ठूलो चपेटामा परेका कारण नेपाली गलैंचाको व्यापारमा नराम्रोसँग धक्का पुगेको हो ।

बन्दाबन्दीका समयमा नियमित उडान बन्द हुँदा सीमित मात्रामा माग भएका गलैंचाको निर्यात चार्टर उडानमार्फत गर्नु पर्दा उद्यमी व्यवसायीहरूलाई महँगो परेको थियो । तर, हाल नियमित उडान खुला भए पनि व्यवसायीहरूले सामान्य अवस्थाको तुलनामा करीब ३ प्रतिशत बढी भाडा तिर्नु परेको बताइएको छ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्