सप्तकोशीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु



सप्तरी,कात्तिक ८ । सप्तकोशी नदीमा मोटरबोट पल्टिँदा तीन जना यात्रुको मृत्यु भएको छ। भोजपुरको कोप्चेबाट यात्रु बोकेर सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको मोटरबोट धनकुटा, उदयपुर र भोजपुरको संगमस्थल त्रिवेणीनजिकै आइतबार दिउँसो पल्टिएको हो।

इलाका प्रहरी कार्यालय बराहक्षेत्रका अनुसार दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत हुन सकेको छैन। दुर्घटनामा परेका एक जनाको उद्धार गरी उपचारका लागि बराहक्षेत्र अस्पताल पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकारका अनुसार मोटरबोटमा १४ जना यात्रु सवार रहेको भनिए पनि त्यसको पुष्टि भइसकेको छैन।

दुर्घटनास्थल धनकुटा क्षेत्रमा पर्ने भए पनि उद्धारका लागि सुनसरीको बराहक्षेत्रबाट प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्