मजदुरमा कोरोना संक्रमण देखिएपछि तातोपानी नाका पुनः बन्द



सिन्धुपाल्चोक, असोज २१ । विगत लामो समयसम्म बन्द रहेको नाका तातोपानी नाका पुनः बन्द भएको छ । ८० दिनपछि सोमवारबाट खुलेको नाका मंगलवारदेखि पुनः बन्द भएको हो ।

भन्सार कार्यालय तातोपानीका प्रमुख लालबहादुर खत्रीका अनुसार नेपालबाट चीनतर्पm सामग्री लोड अनलोड गर्न गएका ३३ मजदूरको स्वास्थ्य परीक्षण गरिएकोमा ७ जनामा संक्रमण देखिएपछि नाकाबाट समान पठाउन चिनियाँ पक्षले आनाकानी गरेको छ ।

यसअघिका सीमाक्षेत्रका संक्रमित चार मजदूरको ‘कन्ट्याक्ट ट्रेसिङ’ र उपचार नसकिँदै मंगलवार तीन जनामा कोरोना पोजिटिभ देखिएपछि चीनले कन्टेनर नै पठाएको छैन ।

नेपालमा परीक्षण गर्दा ती मजदूरको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । तर, चीनतर्फ परीक्षण गर्दा पोजेटिभ देखिएकाले सोमवारका लागि आयात बन्द गरिएको बताइएको छ ।

सबै चालक र मजदूरको ५÷५ दिनमा परीक्षण गर्ने क्रममा कोरोना भाइरस देखिएका चार जनालाई सदरमुकाम चौतारास्थित आइसोलशनमा राखेर उपचार गरिँदै छ । ती चार जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ नसकिँदै पुनः तीन जनामा कोरोना पोजिटिभ देखिएपछि सीमा नाका बन्द गरिएको हो ।

आइतवार बेलुकीदेखि सोमवार बिहानसम्म चीनको खासाबाट १२ कन्टेनर समान भित्रिएको छ । विशेषगरी ती कन्टेनरमा लत्ता कपडा, गार्मेन्ट सामग्रीसहित केही तयारी सामग्री भित्रिएका थिए । यसअघि भन्सार कार्यालयले दैनिक १५ ओटाभन्दा बढी कन्टेनरमा सामान आउने र त्यसबापत सरदर १ करोड बराबरको राजस्व संकलन हुने अपेक्षा राखेको थियो ।

खत्रीका अनुसार यसअघि चीनले मितेरी पुल पारि स्टोर गरेर राखिदिएका सामग्री लिन चालक र मजदूर गरी २९ जना १२ ओटा कन्टेनर लिएर मितेरी पुल पुग्ने गरेका थिए ।

नाकामा पुनः अवरोध भएपछि तिब्बतको खासादेखि बीचबाटोमा करीब ८ सय कन्टेनरमा तयारी पोशाक, लत्ताकपडा, विभिन्न इलेक्ट्रोनिक समान, स्याउ, लसुन, प्याज, कस्मेटिक सामान र खेलौनाजस्ता सामग्री अड्किएका छन् ।

यो समाचार आर्थिक अभियान दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्