रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जिनोम एडिटिङको तरिका पत्ता लगाउने दुई वैज्ञानिकलाई



एजेन्सी असोज २१ ।

यस वर्षको रसायनाशास्त्रतर्फको नोबेल पुरस्कार इमानुएले शारपेन्टियर र जेनिफर ए डुडनाले पाउने भएका छन्।

जिनोम एडिटिङको तरिका पत्ता लगाएवापत उनीहरुले यो पुरस्कार पाउने भएका हुन्। सन् २०१२ मा शारपेन्टियर र डुडनाले सीआरआईएसपीआररसीएएस ९ जेनेटिक सिजरको खोजी गरेका थिए।यसपछि ठूलो मात्रामा जिनोम एडिटिङ हुन थाल्यो। यो खोजपछि लाइफ साइन्स नयाँ उँचाईमा पुगेको र मानवतामा ठूलो फाइदा पुगेको नोबेल कमिटीले जनाएको छ।

यसको सहयोगमा अनुसन्धानकर्ताले जीवको डीएनए अतिसुक्ष्मतरिकाले परिवर्तन गर्न सक्छन्। यो नयाँ तरिकाका कारण क्यान्सरको उपचारमा सहयोग पुगेको छ र आनुवांशिक रोगको उपचार सम्भव हुन थालेको छ।

यसअघि लिथियम आयन ब्याट्रि बनाउने जोन गुजेनाफ, एम स्ट्यानली र अकिरा योसिनोले रसायनशास्त्रतर्फको नोबेल पाएका थिए । रसायनशास्त्रतर्फको नोबेल पुरस्कार हालसम्म कुल १११ पटक दिइएको छ भने पुरस्कार पाउनेको संख्या १८३ छ।

डायनामाइटको आविस्कार गर्ने वैज्ञानिक अल्फ्रेड नोबेलको सम्पत्तिबाट यो पुरस्कार दिइन्छ। अल्फ्रेड नोबेलले आफ्नो सम्पत्तिको अधिकांश हिस्साबाट पुरस्कार कोष स्थापना गरेका थिए। विश्वको सबैभन्दा प्रतिस्ठित पुरस्कार मानिने नोबेल विजेताले ११ लाख अमेरिकी डलर प्राप्त गर्छन्।

प्रतिक्रिया दिनुहोस्