दसैँमा काठमाडौँका शक्तिपीठमा भक्तजनको घुइँचो
काठमाडौँ, कात्तिक १ । बडादसैँको नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, दक्षिणकाली, शोभा भगवती, सङ्कटालगायत शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ ।
भक्तजनले व्रत, ध्यान, जप तथा पूजापाठ गरी देवीको आराधना गरिरहेका छन् । कतिपयले नौ दिनसम्म अन्न नखाई व्रत बस्ने र शाकाहारी भोजन गरी देवीको उपासना गर्ने गरेका छन् ।
गुह्येश्वरी मन्दिरका पुजारी सागर कर्माचार्यका अनुसार दसैँमा यहाँ तान्त्रिक विधिबाट विशेष पूजा गरिन्छ । यस्तै, मैतीदेवी र भद्रकाली मन्दिरमा पनि नवरात्रभर विशेष पूजाआजा हुने गरेको छ ।
भद्रकाली मन्दिरमा फूलपातीदेखि तीन दिनसम्म दैनिक तीनदेखि चार हजार दर्शनार्थी आउने गरेको पुजारी राम देउलाले बताउनुभयो । यस अवधिमा बलिपूजा तथा नयाँ सवारीसाधनको पूजाका लागि समेत भक्तजन आउने गरेका छन् ।
काठमाडौँका शक्तिपीठसँगै साँखुको वज्रयोगिनी, इन्द्रायणी र पलाञ्चोक भगवती मन्दिरमा पनि दसैँका अवसरमा दर्शनार्थीको चहलपहल बढेको छ ।

