बीस वर्ष पुगेर विवाह गर्ने दम्पत्तीलाई बीस हजार पुरस्कार



बझाङ असोज २२।

जिल्लाकै विकट र सदरमुकामबाट चार दिनको पैदल यात्रामा मात्र पुगिने साइपाल गाउँपालिकाले २० वर्षपछि विवाह गर्ने जोडीलाई २० हजार पुरस्कार दिने निर्णय गरेको छ ।

गाउँपालिकामा सानै उमेरमा विवाह गरिदिने र कतिपय किशोर किशोरीहरूले आफै भागेर बालविवाह गर्ने प्रचलन बढ्न थालेपछि यसलाई रोक्न यस्तो निर्णय गरेको साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए ।

विद्यालय जाने उमेर समूहका बालबालिकालाई बालविवाहबाट रोक्ने जिम्मा विद्यालयलाई दिएका कारण आफूहरू बालविवाह रोक्न लागिपरेको र अहिलेसम्म दुई बालिकालाई उद्वार गरी माइती घरमै ल्याउन सफल भएको धुली माविका प्रधानाध्यापक नवराज जोशीले बताए ।

गाउँपालिकाभित्र वा बाहिर २० वर्ष उमेर नपुग्दै कोही कसैले विवाह गरी ल्याएको वा भागेको खण्डमा प्रहरी प्रशासनसँग अनुरोध गरी कारबाही गर्ने गाउँपालिकाको नीति भएको अध्यक्ष धामीको भनाइ छ । गाउँपालिका अध्यक्ष धामीले उमेर नपुग्दै विवाह गर्ने प्रचलनलाई निरुत्साहित गर्न र २० वर्षपछि मात्र विवाह गर्ने चेतना विकास गर्नका लागि गाउँपालिकाले यस्तो निर्णय गरेको बताए।

प्रतिक्रिया दिनुहोस्