यस कारण सेना परिचालन गर्नुपर्छ



वीरगन्जमा सेना परिचालन गर्दा कोरोना नियन्त्रणमा आयो भनेको समाचार पनि सुन्यौ । नियन्त्रणमा आएको तथ्यांकले पनि देखायो । त्यहाँ सेनाले औषधि बाँडेको थिएन । त्यहाँ छाडा र हेपाहा नागरिकलाई अनुशासन सिकाएको थियो त्यसैले छिट्टै नियन्त्रणमा आयो ।

सुन्दर पन्त
विश्व व्यापी फैलिएको कोभिड कोरोना १९ नेपालमा पछिल्लो समय संक्रमणको संख्या दिनानुदिन रफ्तारमा फैलिँदैछ । विश्वमा शुक्रबारसम्मको संक्रमित संख्या ३६, ५१६,७८८ र मृत्यु संख्या १,०६१,८८८ भइसकेको छ । बिहीबारको दिन नेपालमा पनि संक्रमितको संख्या ९८६१७ मृत्यु संख्या ५९० भइसकेको छ । दिनानुदिन संक्रमित र मृत्युदरको संख्या पनि क्रमश: बढ्दैछ । यही क्रममा बढ्दै जाने हो भने अवस्था भयावह हुदैछ । गर्मीभन्दा जाडोमा अझै यसको भाइरस अझै सक्रिय हुने हुँदा नेपालमा जाडो समय सुरु हुँदैछ । त्यसको प्रभाव अझै बढ्ने कुरा प्रस्ट छ ।

स्वास्थ्य मन्त्रालयको तर्फबाट हरेक दिनको प्रेस ब्रिफिंगमा अब नेपाल हटस्पटको रुपमा परिणत हुँदैछ । यो रोगलाई खेलाची नसम्झौं, भीडमा नजाऔं, भीडभाड नगरौं ? अत्यन्तै जरुरी कामबाहेक घर बाहिर ननिस्कौं ? यसको औषधि बनिसकेको छैन । भ्याक्सिन नआउन्जेल स्वयम् नागरिक सचेत बनौ भनिरहेको हामी सबैले सुनेकै छौं । डाक्टर, जनस्वास्थ्यविद्हरुको सुझाव पनि यही छ । तर त्यसको कत्तिको पालना गर्‍यौं त ? सरकारले ? नागरिकले ?

यहाँ उठान गर्न लागिएको विषय के हो भने नेपालमा कोरोना कोभिड-१९ संक्रमण अत्यन्तै तीव्र गतिले बढेको छ । यसको नियमन र नियन्त्रण गर्ने निकाय स्वास्थ्य मन्त्रालय नै हो । स्वास्थ्य मन्त्रालयले वर्तमान समयमा प्रभावकारी ढंगबाट नियन्त्रणकारी भूमिका खेल्न नसकेको कुरा स्वयम् सरकार र आम नागरिकले स्वीकार गरेका छन् । यति हुँदाहुँदै पनि सरकारको तर्फबाट आफ्नो स्रोत र साधनको भरपुर प्रयोग गरेकै हो तर प्रभावकारी देखिएन । त्यसैकारण अब अरु थप जोखिम हुन नदिन र नियन्त्रण गर्न सरकारले सेना परिचालन गर्ने र यसलाई थप कडाई गरी प्रभावकारी भूमिका सेनाबाहेक अरु निकायले गर्न सक्दैनन् भन्ने ठम्याई हो ।

विगतका केही कुराहरु स्मरण गर्नु बुद्धिमता पनि होला । नेपाल सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न २०७६ चैत्र ११ गतेदेखि लकडाउन गर्‍यो । त्यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या एक हातको औलामा गन्न सकिने थियो । सारा नेपाली त्यतिबेला अमेरिका, इटली, ब्राजिल लगायतका देशहरुमा कोरोना संक्रमणका कारण मानिसहरु दिनहुँ हजारौंको संख्यामा मरे । त्यो भयानक दर्दनाक दृश्य देखेर सारा विश्व नै भयभीत भए । हामी नेपाली पनि त्यसबाट अछुतो रहेनौं । पहिलो लकडाउनमा कत्ति अनुशासित भयौं । अटेर गर्नेलाई सुरक्षाकर्मीहरुले घण्टौ होल्डमा राखे । त्यसबेला सिमानाबाट नेपाली दाजुभाइलाई प्रवेश गर्न पनि दिएनौं । खबरदार सिमाना अलपत्र नागरिकलाई पस्न नदिनु एकथरिले भने अर्कोथरिले पस्न देऊ भने । यस्तो द्विविधाबीच सरकार लाचार देखियो । ठोस निर्णय गरे पनि व्यवस्थापन गर्न सकेन । यो दृश्य देखेको र भोगेका छौं । त्यत्तिबेला सरकारको सुझबुझ पुगेन या तयारी पुगेन । मानौ, सबै झाँक्री सबै धामी भयौं ।

यी प्रतिनिधि घटना हेरौं-
तास खेल्दाको साथी, जाँड खादाको साथी साथीलाई अन्धाधुन्ध पास वितरण गरियो अनि संक्रमण फैलियो सांसद रामनारायण विडारीले संसद्‌मा बोल्नु भएको सुनेकै हो ।
सरकारको प्रेस मिट र मण्डलामा ३-४ दर्जन पत्रकारको भीड देखेकै हो ।
सिमाना बन्द छ । दिनभर सिमाना अलपत्र । राति राति प्रवेश गराएको देखेकै हो ।
सांसद र उच्च पदस्थ पदाधिकारीहरुको गाडीबाट ओसारपसार देखेकै हो ।
खाद्यान्न र मालवाहक गाडीबाट मानिस ओसारपसार गरेको देखेकै हो ।
सिमानामा रहेको अन्य नाकाबाट स्कारपियो, सुमो, मोटरसाइकलबाट रातारात शुभलाभ लिएर सुरक्षाकर्मीले प्रवेश गराएको सुनेकै हो ।
सुरक्षाकर्मीको हलो इफ़ेक्ट, पास बिक्री वितरण सुनेकै हो ।
एम्बुलेन्समा मानिस ओसारपसार देखेकै हो ।
पार्टी विवाद हुँदा प्रधानमन्त्री केपी ओलीको पक्षमा सभा जुलुस माइतीघर मण्डलामा देखिएकै हो ।
हजारौंको संख्यामा इन अफ टु इन अफ को प्रदर्शन देखिएकै हो ।
सभा सम्मेलन प्रतिबन्ध सरकारले लगाए पनि प्रमुख राजनैतिक पार्टीको बैठक देखिएकै हो ।
२५ जनाभन्दा बढी भेला नहुनुभन्दा सयौंको संख्यामा भेला भएको देखेकै हो ।
विद्यालय, सिनेमाघर, क्लब, जिमखाना, पार्लर बन्द गर्नुभन्दा चलाउन थालिएको देखिएकै हो । मठ, मन्दिर, बिवाह, ब्रतवन्ध, घाट, अस्पताल, तरकारी बजार, सडक पेटीमा पसल हिजोआज झनै भिडभाड देखिएकै छ।

प्रमुख राजनैतिक दलका नेताहरु अझै पनि राजनैतिक भेटघाट र कार्यक्रममा संलग्नता देखिएका छन् । त्यही कारण हिजोआज ती नेताहरु संक्रमित भएका छन् । के त्यो कुरा सत्य हैनन र ?

अझ सरकार प्रमुख नै कोरोना केही हैन बेसार पानी खायो “चट” हुन्छ भन्ने ग़ैर ज़िम्मेवारी कुराले र नागरिक पनि यो सामान्य रुघाखोकी हो भनेर हल्का रुपमा लिएको कारण यसको असामान्य ढंगबाट बढेको हैन र ? त्यसै कारण पनि यो कोरोना कोभिड नियन्त्रण गर्न सेना परिचालन गर्नु पर्दछ भन्ने धारणा हो ।

१ . सेनासँग औषधि छ त ? :- हो, सेनासँग पक्कै पनि औषधि छैन । कोरोना नियन्त्रण कठोर अनुशासनबाट मात्र हुन्छ भन्ने विश्वव्यापी प्रमाणित भइसकेको छ । सेना आफै अनुशासित छ । सेनाले अनुशासनमा राख्ने ल्याकत राख्छ । वर्तमान परिवेशमा नागरिकलाई अनुशासन राख्न सेना सक्षम छ । सेनामा चेन अफ कमाण्ड छ । दिएको आदेशभन्दा अरु मान्दैन सुन्दैन । सिडियो, सांसद, सचिव सहसचिव, कार्यालय प्रमुखहरुलाई … विषयगत काम बाहेक चिन्दैन । सिर्फ काम र आदेश पालना गर्छ । त्यही भएर सेना परिचालन गर्नुपर्छ भनेको हो । सेना परिचालन गर्दा नागरिकलाई पक्कै मर्का पर्ला ? तर अहिले नागरिकले के सुविधा पाएका छन् र राज्यबाट ? तिनीहरुलाई के फरक परेको छ र न काम न दाम न राहत ? त्यसैले नागरिकका समस्या बुझ्ने र समस्या समाधान गर्ने गरी सेना परिचालन गर्नुपर्छ ।

अर्को कुरा कोरोना नियन्त्रण गर्न सेना परिचालन गर्नु उपयुक्त हुन्छ भन्दा डर, त्रास, शंका, उपशंका प्रस्तुत भए गरिए । कतै व्यवस्था नै खतरामा पर्ने पो हो कि भन्नेसम्म शंका गरे ? कतै सेनाले नागरिक शासनमाथि ज्यादती त हुन्न भन्ने आशंका व्यक्त गरे ? सेनासँग औषधि छ त ? भन्ने आम प्रश्न र जिज्ञासा पनि आए ! पक्कै पनि सेनासँग औषधि त छैन । तर सेनासँग लगन र अनुशासन छ । त्यही लगन र अनुशासन कायम गर्न सेना परिचालन गर्नु पर्छ मात्र भनेको हो ? यसको ज्वलन्त उदाहरण हो वीरगन्जमा सेना परिचालन गर्दा कोरोना नियन्त्रणमा आयो भनेको समाचार पनि सुन्यौ । नियन्त्रणमा आएको तथ्यांकले पनि देखायो । त्यहाँ सेनाले औषधि बाँडेको थिएन । त्यहाँ छाडा र हेपाहा नागरिकलाई अनुशासन सिकाएको थियो त्यसैले छिट्टै नियन्त्रणमा आयो । त्यहाँ सेनाले राम्रो काम गर्‍यो भनेर निकै प्रशंसा गरेका थिए नागरिक समाज र स्वयम् कोरोना संक्रमित वीरगंज उपमहानगरपालिकाका मेयर ओम सरावगीजीले । राम्रा र उदाहरणीय काम गर्न किन आपत्ति ? मेरो प्रश्न यही हो ?

२ . अनुशासन नै अचुक औषधि:– विश्व स्वास्थ्य संगठन, सरकार, डाक्टर, जनस्वास्थ्यविद्, नर्स, स्वास्थ्यकर्मी, लगायत सबै जसो यस क्षेत्रमा काम गर्नेहरु आजसम्म यसको औषधि पत्ता नलागेको हुँदा यसको नियन्त्रण गर्ने प्रभावकारी उपाय भनेको लकडाउन र नागरिक अनुशासन नै हो । यो विश्वव्यापी मान्यता हो यसबाट राम्रो परिणाम पनि आयो जसको उदाहरण चीन, कोरिया…..। जसले यसको कडाइ साथ पालना गरे त्यहाँ नियन्त्रणमा आयो । जहाँ यसलाई मजाकको रुपमा लिइयो त्यहाँ नियन्त्रण बाहिर पनि गयो साथसाथै अत्यन्तै धेरै मानवीय क्षति व्यहोर्नु पर्यो । जस्तै अमेरिका, इटली, ब्राज़ील….. जस्ता देशहरु । त्यसैकारण अनुशासन कायम राख्न सेनालाई परिचालन गर्दा वर्तमान समयमा उपयुक्त होला कि भनिएको हो ! सेना परिचालन सरकार कै माताहतमा रहने हुँदा किन शंका ?

३ . सरकारलाई सुझाव दिऊँ:– वर्तमान सरकारले कोरोना नियन्त्रणमा विगतका दिनहरुमा निकै ठूलो गल्ती गरिसकेको छ । सरकारले स्वीकार गरेको छैन तर यथार्थ यही हो । २-४ जना औंलामा गणना गर्ने बेलामा कडा लकडाउन गरेर सरकारले नागरिकलाई आतंकित गरायो । बेला न कुबेला राहत वितरण गर्‍यो । दैनिक ज्याला मजदुरी गर्ने, कोठा भाडामा बसेका, न्युन आय भएका नागरिकलाई स्थानीय तहबाट राहत वितरण गर्दा प्रकिया नै ग़लत नीति अवलम्बन गर्‍यो । राजधानीका सडकमा भोकभोकै एक छाक खानका लागि चोकचोक नागरिक भौतारिए । नागरिक बचाउने भन्दा भोटको राजनीति गर्नाले राहत वितरणमा पक्ष प्रतिपक्ष तछाडमछाड गरे । यो विगत हैन ? हो । अब पनि यही अवस्था रहिरहेमा लकडाउन गर्ने अवस्थामा धेरै टाढा देखिँदैन । तर लकडाउन मात्र समस्याको समाधान होइन । भरपर्दो सुझाव विकल्प दिइनु पर्छ । यो विज्ञकै सुझाव र सल्लाह मनन गर्नु नै श्रेयस्कर हुनेछ ।

४ . कतै यस्तो नहोस् ? :- अब यसो नहोला भन्न सकिन्न ? कोरोना संक्रमणको वृद्धिदर यही अवस्था बढी रहने हो भने प्रत्येक घर या नातेदारमध्ये एकको मृत्यु हुनेछ । जसको कारण हामी पछुताउँदै परिवारको एउटा सदस्य गुमाएको पीडाले जनप्रतिनिधि, डाक्टर, सरकारलाई सत्तोसराप गर्नु नपरोस् ?

त्यो भन्दा पहिल्यै हामीले सरकारलाई प्रभावकारी उच्चस्तरीय कोरोना संक्रमण नियन्त्रण सम्बन्धी सर्वदलीय समिति बनाउन दबाब दिऔं । विश्वमा प्रयोग भएका कोरोना नियन्त्रण सम्बन्धी सफल र प्रभावकारी कार्यविधि, आचारसंहिता बनाऔं बनाउन सरकारलाई सल्लाह सुझाव दियौं । तत्पश्चात् सरकारले सेना परिचालन गरोस् । हामीले कोरोना प्रयोजनको काममा सबै तह र तप्काबाट सहयोग गरौं । यसमा नै सबैको भलाई छ । नत्र पछुताउनुबाहेक केही हुन सक्दैन । सबैलाई चेतना भया !

प्रतिक्रिया दिनुहोस्