नेपाल–भारत उडान सुरु गर्न पर्यटनमन्त्री र भारतीय राजदूतबीच छलफल



काठमाडौं असोज २३ ।

कोरोना महामारीका कारण रोकिएको नेपाल–भारत हवाई उडान सुरु गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराई र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच छलफल भएको छ।

शुक्रवार सिहंदरबारमा भएको छलफलमा भट्टराई र राजदूत क्वात्रा चाँडै दुई देशबीच हवाई उडान सुरु गर्ने निष्कर्षमा पुगेका हुन् । भेटमा मन्त्री भट्टराईले भैरहवाका साथै नेपालगन्ज र महेन्द्रनगर नाकाबाट पनि चाँडै उडान अनुमति दिन भारतसँग आग्रह गरेका थिए ।

भट्टराई र क्वात्राबीच पशुपति, लुम्बिनी र जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्नेबारे पनि छलफल भएको थियो । रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यान्वयनमा ल्याउन पनि दुवै देश सकारात्मक रहेको प्रतिबद्धता व्यक्त गरिएको छ ।

राजदूत क्वात्राले कोरोनाका कारण प्रभावित बनेको पर्यटन क्षेत्रलाई उकास्न भारत सरकारले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्